बेइजिङ। चीनले जर्मनीमाथि एसिया-प्रशान्त क्षेत्रमा ‘तनाव बढाउने र टकराव उक्साउने’ काम गरेको आरोप लगाएको छ ।
जर्मन विदेशमन्त्री जोहान वाडेफुलले बेइजिङलाई ‘बढ्दो आक्रामक’ भएको बताएपछि चीनको त्यस्तो आरोप आएको हो ।
जापान भ्रमणका क्रममा वाडेफुलले ‘चीनले बारम्बार एकतर्फी रूपमा यथास्थिति बदल्न धम्की दिएको छ’ भनेको थियो । उनले चेतावनी दिँदै भने, “यस क्षेत्रमा कुनै पनि तनावले विश्व सुरक्षा र अर्थतन्त्रमा गम्भीर असर पार्छ ।”
यसअघि आइतबार जर्मन विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीनलाई ‘क्षेत्रीय वर्चस्व जमाउन खोजेको र अन्तर्राष्ट्रिय कानूनमाथि प्रश्न उठाएको’ आरोप लगाएको थियो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, “पूर्वी र दक्षिण चीन सागरको अवस्था सामान्यतया स्थिर छ ।
सम्बन्धित पक्षहरूले क्षेत्रीय मुलुकहरूको सम्मान गर्दै वार्ता र परामर्शमार्फत समस्याको समाधान खोज्नुपर्छ । तनाव बढाउनु शान्ति र स्थिरताका लागि लाभदायी छैन, ताइवानको प्रश्न चीनको आन्तरिक मामिला हो ।”
‘रुसी युद्ध मेसिन’ लाई समर्थन गरेको आरोप
टोकियोमा जापानी समकक्षीसँगको संयुक्त पत्रकार सम्मेलनमा वाडेफुलले चीनलाई ‘रुसी युद्ध मेसिनलाई समर्थन गरेको’ भन्दै आलोचना गरे ।
उनले भने, “चीन रुसका लागि दोहोरो प्रयोगका सामानहरूको सबैभन्दा ठूलो आपूर्तिकर्ता र तेल-ग्यासको प्रमुख ग्राहक हो । चीनको समर्थन बिना युक्रेनविरुद्धको युद्ध सम्भव हुने थिएन ।”
वाडेफुलले सोमबार वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र युरोपेली नेताहरूसँग हुने वार्ताअघि भने, “युक्रेनका लागि दृढ सुरक्षा ग्यारेन्टीहरू महत्त्वपूर्ण छन् ।”
उनका अनुसार, शुक्रबार अलास्कामा भएको ट्रम्प-पुटिन शिखर सम्मेलनले पनि ‘न्यायपूर्ण र स्थायी शान्तिका लागि मस्कोले कदम चाल्नुपर्छ’ भन्ने देखाएको छ । उनले भने, “त्यो नभएसम्म युक्रेनलाई सहयोग बढाउन र रुसमाथि दबाब जारी राख्नुपर्छ ।” एजेन्सी