नेपालको जैविक विविधता संकटमा छ: राष्ट्रपति पौडेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
683
Shares
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुकुश हिमालय क्षेत्रका दुई अर्बभन्दा बढी मानिसको जीवनयापनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्याएको नेपालको जैविक विविधता संकटमा रहेको बताएका छन्। आज काठमाडौँमा आयोजित ‘हिन्दुकुश हिमालय संसदीय सम्मेलन’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण अब वैज्ञानिक प्रतिवेदनमा मात्र सीमित नरही हाम्रो दैनिक जीवनको कठोर यथार्थ बनिसकेको बताए। उनले नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रका सबै देशहरू संकटको अवस्थामा रहेको र सबै मिलेर यसलाई पार लगाउनुपर्नेमा जोड दिए।
विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियससम्म सीमित गर्न पेरिस सम्झौता मा गरिएको प्रतिबद्धता पूरा गर्न सबै पक्षले आ-आफ्नो स्थानबाट योगदान पुर्याउनुपर्ने अहिलेको आवश्यकता भएको उनको भनाइ छ।
राष्ट्रपति पौडेलले जैविक विविधताको संरक्षणका लागि राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र विस्तार, वन्यजन्तु निगरानी प्रणालीको आधुनिकीकरण र स्थानीय समुदायसँगको सहकार्य प्रशंसनीय रहेको बताए। उनले वैज्ञानिक तथ्य र जनआवाजलाई आधार मानेर समयसापेक्ष, जनमुखी र कार्यान्वयनयोग्य नीति बनाउनुपर्नेमा जोड दिए।