काठमाडौँ। हिन्दुकुश हिमालय क्षेत्रमा पर्ने मुलुकका सांसदहरूबीच जलवायु परिवर्तन र दिगो विकासजस्ता साझा मुद्दामा छलफल गर्न 'हिन्दुकुश हिमालय संसदीय बैठक' आजदेखि काठमाडौँमा सुरु हुँदैछ। संघीय संसद, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले आयोजना गरेको यो बैठकमा यस क्षेत्रका देशहरूका संसदीय प्रतिनिधिहरू सहभागी हुनेछन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको प्राविधिक सहयोगमा हुन लागेको यस बैठकमा नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिहरूको सहभागिता रहनेछ। बैठकको मुख्य उद्देश्य हिन्दुकुश क्षेत्रका मुलुकहरूबीच नीति तथा कानुन निर्माण र दिगो विकासका लागि ज्ञान र अनुभव आदानप्रदान गर्नु हो।
आयोजक समितिका संयोजक वीरबहादुर बलायरले बैठकमा जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधतामा परेका असर, जोखिम र अवसरबारे विस्तृत छलफल हुने बताए। हिन्दुकुश हिमालय क्षेत्र, जो अफगानिस्तानसहित आठ देशमा फैलिएको छ, जलवायु परिवर्तन, प्रदूषण र सामाजिक-आर्थिक परिवर्तनका कारण गम्भीर संकटमा रहेको उनले औंल्याए।
वैज्ञानिक अध्ययनहरूका अनुसार, हिमाली क्षेत्रमा तापक्रम विश्वको औसतभन्दा ०.३ देखि ०.७ डिग्री सेल्सियस बढी हुने अनुमान छ, जसले हिमालका दुई तिहाइ हिम भण्डार पग्लन सक्ने जोखिम बढाएको छ। यस बैठकले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा पर्वतीय मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउन साझा मञ्चको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।