arrow

गाजामा पानीको चरम अभाव: विस्थापितहरू चर्को गर्मी र रोगको जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३१ शनिबार
gaza-attack-0.jpg

काठमाडौँ । गाजाको मुवासी शिविरमा बसिरहेका लाखौँ विस्थापितहरू अहिले चरम गर्मी, पानीको अभाव र जलजन्य रोगको महामारीसँग जुधिरहेका छन्। बिहानैदेखि पानीको लाइनमा उभिने बाध्यता भएका आमाहरूले फोहोर र प्रदूषित पानी लिएर आफ्ना बालबालिकालाई दिइरहेका छन्।

एक विस्थापित आमाले भनिन्, “हामीसँग अर्को विकल्प छैन। यही पानीले हामी र हाम्रा छोराछोरी बिरामी भइरहेका छौँ।” गाजामा अहिले प्रत्येक थोपा पानीको ठूलो महत्त्व छ। मानिसहरू पिउन, खाना बनाउन र सरसफाइका लागि पानीलाई बाँडेर प्रयोग गर्न बाध्य छन्। पानी ढुवानी गर्ने ट्रकहरू दुई–तीन दिनमा मात्र आउने भएकाले मानिसहरूले धमिलो पानी जम्मा गरेर प्रयोग गरिरहेका छन्, र जब पानी आउँदैन, उनीहरू स्वास्थ्यका लागि झनै खतरनाक मानिने समुन्द्री पानी पिउन बाध्य हुन्छन्।

पछिल्लो २२ महिनाको इजरायली आक्रमणपछि गाजामा पानीको पहुँच अत्यन्तै सीमित भएको छ। इन्धन र बिजुलीको आपूर्तिमा रोक लगाइनु, समुद्री पानी शुद्ध गर्ने केन्द्रहरू बन्द हुनु र पानीका पाइपलाइनहरू नष्ट हुनुले यो सङ्कटलाई अझ बढाएको छ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय अनुसार, अहिले गाजाका स्वास्थ्य केन्द्रहरूमा हरेक हप्ता करिब १० हजार ३०० जना जलजन्य रोगका बिरामीहरू उपचारका लागि पुगिरहेका छन्। युनिसेफको तथ्यांकअनुसार, फेब्रुअरीमा २० प्रतिशत रहेको झाडापखालाको दर जुलाईमा बढेर ४४ प्रतिशत पुगेको छ, जसले बालबालिकामा निर्जलीकरणको जोखिम बढाएको छ।

गाजाका पानी सेवा प्रमुख मोन्थर शोब्लाकका अनुसार, उनीहरूले अहिले अस्पताल र नागरिकलाई मात्र पानी दिइरहेका छन्, जसको अर्थ ढल र नाली सफा गर्न चाहिने पानीको आपूर्ति रोकिएको छ। “खाना बिना केही दिन बाँच्न सकिन्छ, तर पानी बिना होइन,” शोब्लाकले बताए।

हालै इजरायलले केही पाइपलाइन पुनः जडान गरेको र एउटा शुद्धिकरण केन्द्रलाई बिजुली दिएको छ। साथै, संयुक्त अरब इमिरेट्सको सहयोगमा इजिप्टको सीमामा नयाँ शुद्धिकरण केन्द्र बन्ने आशा पनि गरिएको छ।

तर, मानवीय सहायता समूहहरूले यदि इजरायलले गाजा सहर र मुवासी क्षेत्रमा नयाँ सैन्य कारबाही सुरु गरेमा पानी र अन्य सहायता पुनः अवरुद्ध हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। शिविरमा बस्ने होस्नी शाहीनले भने, "यो पानीले बच्चालाई पेट दुख्ने बनाउँछ। जब छोराछोरीलाई यो पानी दिनुपर्छ, हामी सुरक्षित छौँ जस्तो लाग्दैन।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ