आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्च र राजस्वमा वृद्धि
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
1k
Shares
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको कुल खर्च १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख बराबर भएको छ, जुन गत वर्षको तुलनामा बढी हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तुतिअनुसार, यस वर्ष कुल खर्च वार्षिक लक्ष्यको ८१.८७ प्रतिशत पुगेको छ।
चालु खर्च ९ खर्ब ८० अर्ब ३८ करोड (८५.९५ प्रतिशत), पुँजीगत खर्च २ खर्ब २२ अर्ब ६८ करोड (६३.२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३ खर्ब २० अर्ब ४ करोड (८७.८७ प्रतिशत) खर्च भएको छ। गत वर्षको तुलनामा चालु खर्च २.९४ प्रतिशत र पुँजीगत खर्च १६.१५ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०८१/८२ मा कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको ८३.०६ प्रतिशत पुगेको छ, जुन ११ खर्ब ७८ अर्ब ८२ करोड बराबर हो। यो गत वर्षको तुलनामा १४.४१ प्रतिशतले बढी हो। यसमा कर राजस्व १३.२५ प्रतिशत र गैरकर राजस्व २८.८ प्रतिशतले वृद्धि भएको छ।
यस वर्षको वैदेशिक व्यापारको अवस्था पनि सार्वजनिक भएको छ। कुल आयात १८ खर्ब ४ अर्ब १२ करोड र कुल निर्यात २ खर्ब ७७ अर्ब ३ करोड बराबर भएको छ। यसले कुल व्यापारघाटा १५ खर्ब २७ अर्ब ९ करोड पुर्याएको छ। गत वर्षको तुलनामा आयात १३.३ प्रतिशतले बढेको छ भने निर्यातमा उल्लेख्य ८१.८ प्रतिशतले वृद्धि भएको छ।