गुल्मीमा कालीगण्डकी करिडोर सञ्चालन, मदनभण्डारी राजमार्ग अझै अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
580
Shares
गुल्मी। लगातारको वर्षापछि गएको पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ। गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा सडक माथिबाट खसेको चट्टानसहितको पहिरो पन्छाएपछि सडक खुलेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार, सडक निर्माण कम्पनीले स्काभेटरको प्रयोग गरी पहिरो हटाएपछि यातायात सेवा पुनः सुरु भएको छ।
यसैबीच, अविरल वर्षाका कारण पहिरो जाँदा आज बिहानैदेखि अवरुद्ध भएको मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक भने अझै सञ्चालनमा आउन सकेको छैन। रुरुक्षेत्र गाउँपालिका-३ स्थित बाख्रे भीरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो। पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि अहिले सवारी साधनहरू रुरुक्षेत्र-३ स्थित पानी ट्याङ्कीबाट थोर्गा हुँदै सालबिसौनाको वैकल्पिक सडक प्रयोग गरी सञ्चालन भइरहेका छन्।
गुल्मीमा पछिल्लो तीन दिनदेखि लगातार हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यसले गर्दा बडिगाड खोला र कालीगण्डकी नदीमा पानीको सतह बढ्दै गएको छ। बाढी र पहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।