काठमाडौँ। यूईएफए सुपर कप फुटबलको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । बुधबार राति भएको उपाधि भिडन्तमा इङ्गलिश क्लब टोटनह्याम हट्सपरलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले सन् २०२५ मा आफ्नो पाँचौँ उपाधि जितेको हो ।
खेलको अन्तिम क्षणमा नाटकीय कमब्याक गर्दै पीएसजीले यो सफलता हासिल गरेको हो । स्टाडियो फ्रिउली (उडिने) मा भएको च्याम्पियन्स लिग र युरोपा लिगको विजेताबीचको वार्षिक प्रतियोगिताको ८५औँ मिनेटसम्म टोटनह्याम २–० ले अगाडि रहेको थियो ।
टोटनह्यामका लागि ३९ औँ मिनेटमा मिक्कि भान डे भान र ४८ औँ मिनेटमा क्रिष्टियन रोमेरोले गोल गरेका थिए ।
उपाधि जित्ने टोटनह्यामले पक्काजस्तै भइरहँदा पीएसजीले अन्तिम क्षणमा सशक्त कमब्याक गर्दैै उपाधि नै चड्कायो । ८६औँ मिनेटमा ली काङ–इनले कुनामा प्रहार गर्दै गोल अन्तर घटाए । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई २–२ को बराबरी गरे ।
पेनाल्टी सुटआउटमा शुरूमा भिटिन्हाले मिस गरेपछि टोटनह्याम २–० ले अघि थियो । त्यसपछि मिकी भान डे भेन र माथिस टेलले अवसर गुमाए । पीएसजीले निर्धारित समयको खेलजस्तै खेलमा फर्कने क्रममा लगातार चार पेनाल्टीमा सफलता हासिल गर्यो र उपाधि जित्यो । अन्तिम निर्णायक प्रहार नुनो मेन्डेसले गर्दै टोलीलाई जित दिलाए ।
यो अप्रत्याशित नतिजापछि पीएसजीका प्रशिक्षक लुइस एनरिकेले सटिक जवाफ दिए, ‘कहिलेकाहीँ फुटबल निष्पक्ष हुँदैन । अन्तिम १० मिनेटमा दुई गोल गर्न पाउनु हाम्रो ठूलो भाग्य हो ।’