बुद्धको मावली 'देवदह' ओझेलमा, मर्चवारको अमवामा रहेको स्थानीयको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
762
Shares
मर्चवार (लुम्बिनी)। बुद्धको जन्मस्थल लुम्बिनी विश्वभर शान्तिको केन्द्रको रूपमा चिनिए पनि उनको मावली 'देवदह' अझै पनि ओझेलमा परेको छ। रुपन्देहीको मर्चवारी गाउँपालिका–२ अमवामा रहेको 'सगरा' नामक प्राचीन पोखरी नै ऐतिहासिक देवदह भएको स्थानीय बासिन्दाहरूको दाबी छ।
यस क्षेत्रका पुरातात्विक संरचनाहरू संरक्षणको अभावमा हराउने जोखिम रहेको सामाजिक अभियन्ता लक्ष्मी थारुले बताए। उनले नाम मिलेकै आधारमा अन्य स्थानलाई देवदह मान्ने प्रयास भएको र वास्तविक कोलियग्रामको तथ्य ओझेलमा पार्ने काम भएको गुनासो गरे।
विभिन्न इतिहासकार र बौद्धविद्हरूले मर्चवार क्षेत्रलाई प्राचीन देवदहको रूपमा औँल्याएका छन्। इतिहासकार एलेक्जेण्डर कनिङ्घमले आफ्नो पुस्तक ‘प्राचीन भारतको भूगोल’ मा लुम्बिनीबाट ११ माइल पूर्वमा रहेको अमकोहिल गाउँ नै कोलीय राज्य हुन सक्ने सम्भावना व्यक्त गरेका छन्। स्कटिस इतिहासकार फ्रान्सिस बुकानन–ह्यामिल्टनले सन् १८१९ मा प्रकाशित आफ्नो कृतिमा यो भूभागको पुरातात्विक महत्त्वबारे चर्चा गरेका छन्।
भारतीय लेखक डा. विजय श्रीवास्तवले पनि आफ्नो पुस्तक ‘कपिलवस्तु–लुम्बिनी दिग्दर्शन’ मा अमकोहिलनगर नै प्राचीन देवदह (कोलियग्राम) हुनसक्ने उल्लेख गरेका छन्। बौद्ध भिक्षु धम्म सिद्धीले ऐतिहासिक दस्तावेज, स्थानीय किंवदन्ती र पुरातात्विक प्रमाणहरूले मर्चवार क्षेत्र नै बुद्ध मावली भएको पुष्टि गर्ने बताएका छन्।
लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले मर्चवारी गाउँपालिका पुरातात्विक दृष्टिले सम्भावनायुक्त क्षेत्र भएको बताएका छन्। उनले विभिन्न प्रमाणहरूले यो क्षेत्रलाई प्राचीन देवदहको सम्भावित अवशेष क्षेत्रको रूपमा संकेत गरेको जनाए। उप्रेतीका अनुसार, कोषले यस क्षेत्रको वैज्ञानिक अनुसन्धान, व्यवस्थित सर्वेक्षण र परीक्षण उत्खननका लागि विधिवत प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। यसले न केवल नेपालको बौद्ध इतिहासलाई उजागर गर्नेछ, तर बुद्धमार्ग (बुद्ध सर्किट) को विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले यस क्षेत्रको उत्खनन, प्रमाणीकरण र पर्यटन प्रवर्द्धन गर्न सकिएमा स्थानीय स्तरमा रोजगारीका अवसर बढ्ने र नेपालको ऐतिहासिक गौरव विश्वसामु थप उजागर हुने विश्वास व्यक्त गरे।