मुगु। लगातारको वर्षापछिको बाढीपहिरोले गर्दा मुगुको गमगढी–बालै–पिना सडकखण्ड करिब दुई महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरो खसेर सडकमा माटो र ढुङ्गा थुप्रिएको छ भने केही स्थानमा सडक भासिएकोले पैदल हिँड्न पनि कठिन भएको छ।
सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दाहरूले खाद्यान्न र औषधिलगायतका अत्यावश्यक सामग्री ढुवानीमा ठूलो समस्या भोगिरहेका छन्।
स्थानीयवासी दानबहादुर शाहीले बताएअनुसार बाटोमा जताततै पहिरो र दलदल भएकोले हिँड्न पनि जोखिमपूर्ण छ। सडक खुलाउनका लागि हालसम्म कसैको ध्यान नपुगेको गुनासो उनले गरे।
यसैबीच, गमगढी नगरपालिकाका कार्यवाहक प्रमुख ऐश्वर्या शाहीले वर्षा रोकिएलगत्तै पहिरो पन्छाउने काम सुरु गरिने बताएका छन्। उनले डोजरलगायतका आवश्यक उपकरणहरू तयारी अवस्थामा राखिएको जानकारी दिए।