इनरुवा (सुनसरी)। पूर्वी पहाडी र तराईका जिल्लाहरूमा भएको लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ।
सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ७४ हजार ४९४ क्युसेक पानीको बहाव रेकर्ड गरिएको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार, बहाव बढेपछि ब्यारेजका ५६ वटा ढोकामध्ये १९ वटा ढोका खोलिएको छ।
बहाव बढ्दै गएको संकेत दिन खतराको रूपमा रातो बत्ती पनि बालिएको छ। स्थानीय प्रशासनले नदी वरपरका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेको छ।