arrow

वर्षाले बैतडीका अधिकांश सडक अवरुद्ध, यात्रुलाई सास्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
Baitadi-hamrakura.jpg

बैतडी। लगातारको वर्षाका कारण बैतडीका धेरैजसो सडक अवरुद्ध भएका छन्। ग्रामीण कच्ची सडकहरू स्तरोन्नति नहुँदा वर्षायाममा सवारीसाधन चलाउन निकै जोखिमपूर्ण हुने गरेको चालकहरूले बताएका छन्। यसबाट यात्रुहरू र स्थानीय बासिन्दाले ठूलो सास्ती भोग्नुपरेको छ।

जिपचालक शेरसिंह कार्कीका अनुसार, वर्षाको समयमा ग्रामीण सडकमा सवारी चलाउन निकै समस्या हुन्छ। सडकको स्तरोन्नति नहुँदा जोखिम बढेको उहाँले बताउनुभयो। जिल्लाको सतबाँझ–सुर्नया सडक मा स्तरोन्नतिको काम चलिरहे पनि वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेकोले सवारीसाधन सञ्चालन गर्न समस्या भइरहेको छ।

यसैगरी, पुर्चौंडी नगरपालिकाको केन्द्र जोड्ने श्रीभावर–हाट सडकखण्ड मा पनि अवस्था उस्तै छ, जहाँ ठूला बसहरू सञ्चालन गर्न सकिएको छैन। जिल्लाको सिगास गाउँपालिकाका विभिन्न वडा जोड्ने देहीमाडौँ–गिरेगडा, सिल्लेगडा–कटौजपानी, मेलौली–पञ्चेश्वर, पाटन–सकार–कैलपाल, धर्मघर–सनशेरीमाडौँ र देहीमाडौँ–दुर्गाभवानी लगायतका सडकहरू पनि वर्षाका कारण अवरुद्ध छन्।

वर्षाले ग्रामीण सडकहरू भत्किएको र हिलाम्मे भएकोले चालकहरूले जोखिम मोलेर सवारी चलाउनुपरेको अर्का जिपचालक नरेन्द्र कुँवरले बताउनुभयो। सडक अवरुद्ध हुँदा यात्रुहरू महँगो भाडा तिर्न बाध्य भएका छन्। यातायात व्यवसायीहरूले जोखिमका कारण देखाउँदै आफूखुसी भाडा असुल्ने गरेका छन्।

दोगडाकेदार–१, रिमका हरिस साउँदका अनुसार, सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न र आकस्मिक कामका लागि यात्रा गर्न समेत समस्या भएको छ। हरेक वर्ष वर्षायाममा ग्रामीण सडकहरूमा पहिरो खस्ने भएकाले यो समस्या दोहोरिँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ