माधव नेपाललाई मुद्दाबाट जोगाउने प्रयासमा छु, सत्ताच्युत गर्ने उद्देश्य छैन - झलनाथ खनाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
585
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाका कारण मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। उनले आफ्नो यो प्रस्तावलाई बदलाको भावना वा सत्ताच्युत गर्ने उद्देश्य का रूपमा नबुझ्न पनि आग्रह गरेका छन्।
खनालले यस्ता टिप्पणीहरूलाई 'कच्चापन र बचपना' को संज्ञा दिए। उनले नेताहरूलाई असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्मविपरीतका कुरा नगर्न आग्रह गर्दै यस्तो कार्यले अध्यक्ष नेपाललाई झन् समस्यामा पार्ने बताए।
के हो पतञ्जली जग्गा प्रकरण ?
माधव नेपालमाथि लागेको यो भ्रष्टाचार मुद्दा २०६६ सालमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा काभ्रेपलाञ्चोकको बनेपामा जग्गा खरिद गर्न दिइएको घटनासँग सम्बन्धित छ। उनले २०६६ माघ १८ मा मन्त्रिपरिषद्को निर्णयबाट पतञ्जलीलाई ८१५ रोपनी जग्गा खरिद गर्न हदबन्दी छुट दिएको र दुई महिनाभित्रै उक्त जग्गा बेच्न पनि स्वीकृति दिएको आरोप छ।
यो निर्णय कानुनविपरीत भएको र नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ मा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। यस मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ। हाल सांसद पद निलम्बनमा रहेका नेपालमाथि लागेको यो मुद्दालाई कतिपय नेताहरूले 'पार्टीलाई नै लागेको मुद्दा' भन्दै आएका छन्, जसलाई खनालले गलत भएको बताएका छन्।
खनालले आफूले सधैँ अध्यक्ष नेपाललाई कसरी बचाउने भनेर सोचिरहेको बताएका छन्। उनले भने, "उहाँको मुद्दालाई अनुकुल कसरी बनाउने? प्रतिवादीलाई कसरी प्रभावकारी बनाउने होला? यो कुरामा म जहिले पनि सोचिरहेको छु।"
उनले आफ्नो प्रस्तावले अध्यक्षलाई यो मुद्दाबाट मुक्ति पाउन सजिलो होस् भन्ने उद्देश्य राखेको स्पष्ट पारे। उनले पार्टीभित्रको आन्तरिक विषयलाई असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्मविपरीतका कुराहरू गरेर थप जटिल नबनाउन आग्रह गर्दै अध्यक्ष नेपालले यस विषयमा परिपक्वता देखाउनुपर्नेमा जोड दिए।