जनकपुरमा रेल र टाटा कार ठोक्किए, गाडी भित्र सबै जना सुरक्षित
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
814
Shares
धनुषा। जनकपुरधाम उपमहानगरपालिका–९, ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र कार एक आपसमा ठोक्किँदा कारमा सवार तीनै जना यात्रु सुरक्षित रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, बिहान ८:३० बजे महोत्तरीको पिपराढी रेल्वे स्टेसनबाट जनकपुरधामतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च १२९० नम्बरको टाटा टियागो कार क्रसिङ क्षेत्रमा नेपाल रेल्वेको रेलसँग ठोक्किएको थियो।
ठक्करका कारण कारमा बाह्य क्षति देखिएको भए पनि यसको संरचनात्मक मजबुतीका कारण कारभित्र सवार यात्रुहरूलाई सामान्य चोटपटक मात्र लागेको प्रहरीले जनाएको छ। स्थानीय प्रत्यक्षदर्शीहरूले ठक्कर हुँदा ठूलो आवाज सुनिएको र दुर्घटनाको तत्कालै प्रभावकारी उद्धार कार्य सम्पन्न गरिएको बताए।
दुर्घटनापछि केही समयका लागि रेल सेवा अवरुद्ध भए तापनि प्रहरीले छिट्टै सेवा सुचारु गरिएको जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार, यात्रुहरू सुरक्षित रहनुमा कारको बलियो संरचनाले निर्णायक भूमिका खेलेको ठहर गरिएको छ। घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको छ।