arrow

रित्तिदै गाउँका विद्यालय, शिक्षकलाई राजनीतिक संरक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २४ शनिबार
school-parbat.jpg

पर्वत । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन् । 

जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् । शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका छन् । लामो समयदेखि विद्यार्थी सङ्ख्या शून्य भइसक्दा पनि विद्यालयहरू समायोजन गर्ने प्रक्रिया समेत थालिएको छैन । 

जिल्लाका सात स्थानीय तहमा २७२ सामुदायिक विद्यालय रहेका छन् । विद्यार्थी शून्य हुनेमा एक माध्यमिक तहको विद्यालय समेत रहेको छ । जिल्ला शिक्षा समन्वय एकाइ पर्वतले दिएको जानकारीअनुसार विहादी गाउँ पालिकामा दुई सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य रहेको छ । मोदी गाउँपालिकामा नौ विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य भएको छ । 

यसैगरी फलेवास नगर पालिकामा छ वटा सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य पुगेको हो भने कुश्मा नगर पालिकामा विद्यार्थी सङ्ख्या शून्य भएका आठ सामुदायिक विद्यालय रहेका एकाइले जानकारी दिएको छ । 

यस्तै जलजला गाउँ पालिकामा चार सामुदायिक विद्यालयमा विद्यार्थी शून्य रहेका छन्भने दक्षिण पर्वतको पैयूँ गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाइ पर्वतका प्रमुख मतिलाल चपाईले जानकारी दिए । 

उनका अनुसार फलेवास नगरपालिका-५ मा रहेको ध्रुव नमुना माध्यमिक विद्यालयसहित ३१ सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य रहेको भए पनि स्थानीय तहहरूले समायोजन गर्ने वा शिक्षकलाई विद्यार्थी भएको विद्यालयमा खटाउने काम नगरेको बताए । 

शून्य विद्यार्थी सङ्ख्या हुँदा पनि सञ्चालनमै रहने विद्यालयहरूमा कुश्मा नगरपालिकाभित्रकमा हर्राचौर प्रावि, जनजागृति प्रावि, जनकल्याण प्रावि, मराङसिंह प्रावि, सहिद शुक्र प्रावि ठुलीपोखरी, धौलागिरि प्रावि, जनता प्रावि छन् । 

जलजला गाउँपालिकामा शून्य विद्यार्थी हुने विद्यालयमा जनचेतना प्रावि शालिजा, सर्वोदय आधारभूत विद्यालय शालिजा, स्वस्वती आधारभूत विद्यालय धाइरीड हुन् । 

यसैगरी फलेवास नगरपालिकामा शून्य विद्यार्थी हुनेमा श्री वाल प्रावि, धु्रव नमूना मावि, सूर्योदय प्रावि, जनता प्रावि लिमिठाना, तीनधारे प्रावि, मनकामना प्रावि, बेतेयानी प्रावि, देउराली प्रावि र भवानी प्रावि छन् ।

दक्षिण पर्वतको पैंयू गाउँपालिकामा शून्य विद्यार्थी हुनेमा बालनयन प्रावि, वालज्योति प्रावि हुन् । 

मोदी गाउँपालिकामा शून्य विद्यार्थी हुनेमा सिद्ध आधारभूत विद्यालय, कृष्ण आधारभूत विद्यालय, जनप्रकाश आधारभूत विद्यालय, हरि आधारभूत विदालय, सरस्वती आधारभूत विद्यालय, वालकल्याण प्राथमिक विद्यालय, भूमे आधारभूत विद्यालय, लक्ष्मी आधारभूत विद्यालय, दुर्गाभवानी आधारभूत विद्यालय र सिद्धबराह आधारभूत विद्यालय छन् । 

यता विहादी गाउँपालिकामा जनसेवा प्रावि वहाकीठाँटी र वालज्योेती प्रावि रानीपानीमा विद्यार्थी सङ्ख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाइ पर्वतले जनाएको छ । 

यसरी विद्यार्थी नै नभएका विद्यालयको सङ्ख्या ३१ पुगिसक्दा पनि पर्वतका स्थानीय सरकारहरूले विद्यालय समायोजन गराउन कुनै चासो नदिएको फलेवासका स्थानीय धर्म पौडेलले बताए । 

शिक्षकलाई विद्यार्थी नै नभएका विद्यालयमा राखेर तलब सुविधा दिलाउने गरिएको छ । राज्यको बजेटको दुरूपयोग हुने भए पनि बाध्यतामा परेर शिक्षकहरू राख्नुपरेको फलेवास नगरपालिका-२ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले बताए । 

अहिले विद्यार्थी नभए पनि आगामी दिनमा विद्यार्थी आउन सक्ने भन्दै विद्यालयलाई समायोजना नगरिएको बुझिएको उनको भनाइ छ । 

शिक्षकहरूलाई सरुवा गर्नुको सट्टा रित्ता विद्यालय रुंगाएर जनप्रतिनिधिले राजनीतिक संरक्षण गरिरहेको पाइएको छ ।

करार, राहत शिक्षक र कार्यलय सहयोगीको रोजगारी जाने भएका कारण पनि कतिपय विद्यालय समायोजन नगरिएको कतिपय जनप्रतिनिधिले नै बताउने गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ