काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्नका लागि विश्व समुदायलाई सँगै मिलेर काम गर्न आग्रह गरेका छन्। हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पर्ने जलवायु परिवर्तनको असरसम्बन्धी ‘साइड इभेन्ट’लाई सम्बोधन गर्दै उनले यो आह्वान गरेका हुन्।
प्रधानमन्त्री ओलीले हिमालका आवाजहरू बरफमुनि मर्न नदिन र ठोस कार्यहरूद्वारा हिमालयलाई बचाउन सकिनेमा जोड दिएका छन्। उनले भने, “हाम्रा हिमालय अर्बौं मानिसहरूको जीवन र जीविकोपार्जनको स्रोत मात्र होइन, यो हाम्रो पहिचान, राष्ट्रिय गौरव, हाम्रो वर्तमान र भविष्य पनि हो।”
प्रधानमन्त्री ओलीले पृथ्वीको 'कुलिङ सेन्टर' का रूपमा रहेका हिमाललाई लोप हुन नदिने प्रयास नेपालको मात्र चाहनाले पूरा नहुने बताए। उनले कार्बन उत्सर्जन गर्ने मुलुकहरूले पनि यसमा गम्भीरता देखाउनुपर्ने स्पष्ट पारे।
हिमनदी पग्लने समस्या नेपालजस्ता देशका लागि केवल वातावरणीय चिन्ताको विषय मात्र नभई यो विकास, सुरक्षा र अस्तित्वको लागि निरन्तरको खतरा भएको उनको भनाइ छ। नेपालले हिमनदी ताल फुटेर हुने बाढी (जस्तै रसुवागढीमा भएको क्षति) को विनाश भोगिसकेको र यस्ता विपत्ति बारम्बार भइरहेको उनले बताए।
उनले भने, “यसका कारण हाम्रो कृषि, जलविद्युत्, पर्यटन र जैविक विविधतामा जोखिम बढ्दो छ। यी खतराहरू हाम्रो राष्ट्रिय सीमाभन्दा बाहिर फैलिएका छन्। त्यसैले यसमा विश्व साझेदारी आवश्यक छ, नेपाल त्यो साझेदारी बढाउन तयार छ।”