बाल सुधार गृहमा प्रहरीले हतियार प्रयोग गर्न पाउने प्रावधान ल्याइँदै [भिडियो]
१८ वर्ष पार गरेकालाई नुवाकोट कारागारमा सारिने
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
810
Shares
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले बाल सुधार गृहमा प्रहरीले हतियारसहित प्रवेश गर्न पाउने व्यवस्था गर्न लागिएको बताएकी छन्। बिहीबार महिला तथा सामाजिक मामिला समितिको बैठकमा उनले बालबालिका सम्बन्धी अधिकार, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रावधान राखिएको जानकारी दिएकी हुन्।
उनका अनुसार, अहिलेको कानुनमा प्रहरीले सुधार गृहभित्र हतियार लैजान पाउँदैन, जसले गर्दा कुनै पनि घटना भएमा प्रहरी दर्शक बनेर हेर्न बाध्य हुन्छ। तर, नयाँ व्यवस्थाअनुसार अवस्था भयावह भई नियन्त्रण गर्न नसकिने अवस्था आएमा अन्तिम अस्त्रको रूपमा हतियार प्रयोग गर्न सकिनेछ।
सचिव बस्नेतले बाल सुधार गृहमा रहेका १८ वर्ष पार गरिसकेका व्यक्तिहरूलाई अब नुवाकोटस्थित कारागारको एउटा ब्लकमा सार्न लागिएको पनि बताइन्। २५० जना क्षमताको उक्त भवनमा उनीहरूलाई स्थानान्तरण गर्न चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ। यसबाट बाल सुधार गृहमा बढ्दो भीडभाड कम गर्न सकिने उनको भनाइ छ।