चालु आवको अन्त्यसम्ममा सार्वजनिक ऋण २९ खर्ब ४२ अर्ब पुग्ने अनुमान
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
557
Shares
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ४२ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, यसमध्ये आन्तरिक ऋणको हिस्सा ४६.८५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा ५३.१५ प्रतिशत रहनेछ।
आन्तरिक ऋणका विभिन्न उपकरणमध्ये ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको हिस्सा बढ्ने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँ थपिएपछि कुल सार्वजनिक ऋण २६ खर्ब ६० अर्ब रुपैयाँ पुगेको थियो।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँग ऋणको अनुपात ४३.०८ प्रतिशत रहने अनुमान गरिएको छ। अर्थशास्त्रीहरूले जीडीपी को तुलनामा ४५ प्रतिशतसम्मको ऋणलाई जोखिमरहित मान्दै आएका छन्, जसले गर्दा अहिलेको अवस्थालाई जोखिमपूर्ण मानिएको छैन। तर, वैदेशिक ऋणको अनुपात जीडीपीको २२.९० प्रतिशतसम्म पुग्ने अनुमान छ।
सरकारले घाटा बजेट पूर्ति गर्न ऋण लिने कानुनी व्यवस्था भए पनि पछिल्लो समय जथाभावी र प्रतिफल नदिने कार्यक्रमहरूमा पनि ऋण लिने प्रवृत्ति बढेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। विशेषगरी तलबभत्ता र राजनीतिक स्वार्थका लागि लिइएको ऋणले देशलाई ऋणको पासोमा फसाउन सक्ने भन्दै उनीहरूले सचेत गराएका छन्।