गाजामा सैन्य कारबाही विस्तार भए मानवीय संकट गहिरिने राष्ट्रसंघको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
1.4k
Shares
काठमाडौँ। संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही अझ विस्तार भए मानवीय अवस्था थप गम्भीर हुन सक्ने भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। राष्ट्रसंघका युरोप, मध्य एसिया र अमेरिकाका सहायक महासचिव मिरोस्लाव येन्काले मंगलबार न्यूयोर्कमा आयोजित सुरक्षा परिषद्को बैठकमा सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन्।
येन्काले यदि गाजा क्षेत्रमा सैन्य कारबाही थप विस्तार गरिएमा लाखौँ प्यालेस्टिनी नागरिकहरूको जीवनमा गम्भीर सङ्कट आउने र गाजामा रहेका इजरायली बन्धकहरूको सुरक्षामा पनि थप खतरा उत्पन्न हुन सक्ने बताएका छन्। उनले गाजा भविष्यको प्यालेस्टिनी राष्ट्रको अभिन्न अंग भएको र त्यसलाई सोही रूपमा राखिनु अत्यावश्यक भएको बताए।
येन्काले अन्तर्राष्ट्रिय अदालतको सन् २०२४ जुलाईको सल्लाहकार मतलाई उद्धृत गर्दै इजरायलले नयाँ बस्ती निर्माण तत्काल रोक्नुपर्ने, अवैध रूपमा बसाइएका बासिन्दाहरूलाई हटाउनुपर्ने र प्यालेस्टिनी भूमिमा आफ्नो अवैध उपस्थिति अन्त्य गर्नुपर्ने बताए।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, सन् २०२३ अक्टोबरदेखि हालसम्म ६० हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको ज्यान गएको छ। येन्काले सन् २०२५ को मे महिनादेखि मात्रै खाद्यान्न खोज्ने क्रममा १ हजार २०० भन्दा बढीको मृत्यु भएको र ८ हजार १०० भन्दा बढी घाइते भएको जानकारी दिए। उनले गाजामा व्यापक भोकमरी रहेको र मानवीय सहायताको प्रवेशमा इजरायलले अवरोध गरिरहेकोमा पनि चिन्ता व्यक्त गरे।
येन्काले गाजामा जारी हिंसाको निन्दा गर्दै यसको समाधान सैन्य नभई राजनीतिक हुनुपर्नेमा जोड दिए। उनले दुई–राष्ट्र समाधानतर्फ ठोस पहल गर्नुपर्ने, मानवीय सङ्कटको अन्त्य गर्नुपर्ने र पुनर्निर्माण प्रारम्भ गर्नुपर्ने आवश्यकता औँल्याए।