arrow

विपद्‌मा तत्काल उद्धार गर्न सशस्त्रले यी स्थानमा स्थापना गर्‍यो बेस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
apf-rescue-team-floods-landslide-2081.jpg

काठमाडौँ। मनसुनका कारण हुन सक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ। यसको मुख्य उद्देश्य विपद्मा परेका नागरिकलाई तत्काल उद्धार तथा सहयोग पुर्‍याउनु रहेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले जानकारी दिएका छन्।

यी बेसहरू जोखिमयुक्त क्षेत्रहरू पहिचान गरी स्थापना गरिएका हुन्। काठमाडौँ उपत्यकामा कोलमटेश्वर, धर्मस्थली, धापासी, लेले (ललितपुर) र सानोठिमी (भक्तपुर) मा यस्ता बेसहरू राखिएको छ। यसबाहेक, कोशी प्रदेशको मोरङ र ओखलढुङ्गा, मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका विभिन्न स्थानमा पनि बेसहरू स्थापना गरिएको छ।

यसैगरी, बागमती प्रदेशमा मकवानपुर, काभ्रे, नुवाकोट, नुवाकोट, चितवन, दोलखा र रसुवा, गण्डकी प्रदेशमा पर्वत, गोरखा, नवलपरासी र कास्की, लुम्बिनी प्रदेशमा बर्दिया, रुपन्देही, बाँके, गुल्मी र पाल्पाका विभिन्न स्थानमा पनि बेसहरू रहेका छन्। कर्णाली प्रदेशको जुम्ला, मुगु र जाजरकोट तथा सुदूरपश्चिम प्रदेशको कैलाली र डोटीमा पनि मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ।

यी सबै बेसमा विपद् उद्धारका लागि आवश्यक सामग्रीसहितका सुरक्षा फौजलाई तयारी अवस्थामा राखिएको छ। विपद् व्यवस्थापनमा स्थानीय समुदायको महत्त्वपूर्ण भूमिका रहने भएकाले सशस्त्र प्रहरी बलले देशभर १ लाख ६८ हजार ९५६ जना विपद् सूचक तयार गर्नुका साथै ९९० जनालाई विपद् स्वयंसेवक अनुशिक्षण तालिम दिएको पनि प्रवक्ता धौवजीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ