हेटौँडा । इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ११० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी ६४ सांसदको समर्थनमा बानियाँ मंगलबार मुख्यमन्त्री बनेका हुन् ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी बागमतीका छैटौँ मुख्यमन्त्री भएका छन् ।
उनीभन्दा अगाडि बहादुर सिंह लामा, शालिकराम जम्कट्टेल, राजेन्द्रप्रसाद पाण्डे, अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल मुख्यमन्त्री भएका थिए । पौडेल पहिलो मुख्यमन्त्री हुन् ।
निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले गत आइतबार पदबाट राजीनामा दिएका थिए । नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि उनीमाथि राजीनामा दिन दबाब बढेको थियो । लामाले आइतबार साँझ प्रदेश प्रमुख दीपक देवकोटालाई आफ्नो राजीनामा पत्र बुझाएका थिए ।
कांग्रेस र नेकपा एमालेबीच एक वर्षअघि भएको सहमतिअनुसार बानियाँले आगामी ८ महिनासम्म सरकारको नेतृत्व गर्नेछन्।