विद्युत्को माग बढिरहेको छ, सौर्य ऊर्जाको महत्त्वपूर्ण भूमिका: ऊर्जामन्त्री खड्का
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
576
Shares
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा विद्युत् आपूर्तिको माग दिन-प्रतिदिन बढिरहेको बताएका छन्। नेपाल सौर्य विद्युत् उत्पादक संघको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले विद्युत्को माग र चुनौतीहरू दुवै बढिरहेको बताए।
मन्त्री खड्काले नेपाल सरकारले विद्युत् ग्रिड नपुगेका विकट स्थानहरूमा सौर्य ऊर्जाले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे। उनले सिँचाइको व्यवस्था नभएको ठाउँमा सौर्य ऊर्जाबाट पम्पिङ गरी सिँचाइ मा योगदान पुर्याएकोमा पनि संघलाई धन्यवाद दिए।
सरकारले आगामी १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै उनले यो लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक रहेको बताए। सरकारको उद्देश्य विद्युत् उत्पादनलाई हरेक नागरिक र देशको आयआर्जनसँग जोड्नु रहेको उनको भनाइ छ।
मन्त्री खड्काले विद्युत् उत्पादनमा वातावरणीय असर र अन्य चुनौतीहरू पनि रहेको उल्लेख गरे। उनले यी चुनौतीहरूको समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए। विद्युत्को माग बढ्दै गए पनि त्यसको व्यवस्थापनका लागि आवश्यक गृहकार्य हुन नसकेको स्वीकार गर्दै उनले यसमा तीव्रता दिन जरुरी रहेको बताए।