चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा रकनेटिङ र अन्य प्रविधि प्रयोग गरेर पहिरो रोकथामको काम भइरहे पनि केही नयाँ स्थानमा ढुङ्गा खस्ने जोखिम यथावत् रहेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ। सडकको अधिकांश भाग पहाडको भित्तो काटेर बनाइएकाले वर्षायाममा यो सडक सधैँ जोखिमपूर्ण हुने गर्दछ।
इञ्जिनियर अर्जुन घिमिरेका अनुसार, तुइन खोलामा सबैभन्दा बढी जोखिम छ। यहाँ ठूला ढुङ्गाहरू झारिएको भए पनि अझै पनि यो क्षेत्र सुरक्षित छैन। साथै, लामो बालुवा पुल र जलवीरेको एक सय मिटर क्षेत्रमा पनि ढुङ्गा खस्ने सम्भावना रहेको छ। नाम्सी पुल र तुइन खोला नजिकको करिब ६० मिटर क्षेत्र पनि जोखिममा रहेको घिमिरेले बताए।
पहिले रकनेटिङ र बायो इन्जिनियरिङजस्ता प्रविधि प्रयोग गरिएका ठाउँमा समस्या नदेखिए पनि नयाँ ठाउँमा समस्या देखिन थालेको उनको भनाइ छ।
कार्यालय प्रमुख नारायण लामिछानेले जोखिम बढी भएका ठाउँमा रकनेटिङ गर्नेलगायतका कामहरू अघि बढाउन विभागसँग परामर्श भइरहेको बताए। उनले वर्षात्को समयमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
सडकको सुरक्षाका लागि मुग्लिन र सेतीदोभानमा लोडर, जेसिभी, एक्साभेटर, टिपरसहितको टोली तयारी अवस्थामा राखिएको छ। नाली सफा गर्न पनि नियमित रूपमा जनशक्ति खटाइएको छ।