बाँकेमा राप्ती नदीको सतह बढ्यो, सतर्कताका लागि बजाइयो साइरन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
560
Shares
नेपालगञ्ज (बाँके)। बाँकेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाले राप्ती नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बस्तीहरूमा सतर्कताका लागि साइरन बजाएका छन्। लगातारको वर्षाका कारण नदीको जलस्तरले चेतावनीको तह पार गरेपछि स्थानीय प्रशासनले यस्तो कदम चालेको हो।
जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले दिएको जानकारीअनुसार, पश्चिम राप्ती नदीको राप्ती सोनारी जलमापन केन्द्रमा पानीको सतह ४.७० मिटरको चेतावनी तह पार गरेर ४.८६ मिटर पुगेको छ। यस अवस्थामा नदी किनारका बासिन्दाहरूलाई सचेत गराउन र जोखिम क्षेत्रका लागि 'अलर्ट' जारी गर्न निर्देशन दिइएको छ।
बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा पनि जलस्तर ६ मिटरको चेतावनी तह नजिक पुगेको छ। अहिले त्यहाँ पानीको सतह ५.७४ मिटर मापन गरिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले राप्ती नदीमा खतराको तह पार नगरे पनि क्षति हुन नदिन सुरक्षा निकायका टोलीहरू परिचालन गरिएको बताएका छन्। यसैगरी, नरैनापुरमा सामान्य डुबान भएकोले स्थानीयका सामानहरू सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।