arrow

मुस्ताङमा सांस्कृतिक पर्व 'यार्तुङ' शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
mustang-ghoda.jpg

मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व 'यार्तुङ' सुरु भएको छ। यस वर्षको यो पर्व वडा नम्बर १ को खिङ्गा गाउँबाट औपचारिक रूपमा थालिएको हो। 'यार' को अर्थ 'बर्खा' र 'तुङ' को अर्थ 'समाप्ति' हुने भएकाले बर्खा सकिएको र हिउँद सुरु भएको खुसियालीमा यो पर्व मनाइन्छ।

यार्तुङ पर्वका बेला स्थानीय नागरिकहरू उवा र जौँ बाली थन्क्याएपछि फुर्सदिलो हुन्छन्। यही समयमा उनीहरूले प्रकृति र विश्व शान्तिको कामना गर्दै यो पर्व मनाउने गर्छन्। खिङ्गा गाउँबाट सुरु भएको यो पर्व क्रमशः गाउँपालिकाका १९ वटा गाउँ र उपल्लो मुस्ताङका विभिन्न ठाउँमा गुरुङ, विष्ट र लोवा समुदायले मनाउने प्रचलन छ।

यस पर्वमा खिङ्गा गाउँका स्थानीयवासीले सामूहिक रूपमा गुम्बामा पूजापाठ गरेपछि समाजघरमा भेला भई खानपान गरेका थिए। पुरुष र महिला दुवैले जातीय मौलिक वेशभूषा लगाएर मुक्तिनाथ मन्दिर र नरसिंह गुम्बाको दर्शनका लागि गएका थिए। विशेषगरी १८ देखि ६० वर्षसम्मका महिलाहरूले स्थानीय भाषामा गीत गाउँदै यात्रा गरेका थिए।

यार्तुङ पर्वको मुख्य विशेषता घोडा दौडाउने हो। खिङ्गाका युवाहरूले मुक्तिनाथस्थित पुराङ रानीपौवामा साहसपूर्वक घोडा दौडाएर पर्वको रौनक बढाएका थिए। स्थानीय याङजुङ गुरुङका अनुसार, यार्तुङमा घोडा नचढेमा पर्वको कुनै अर्थ हुँदैन।

करिब पाँच किलोमिटरको घोडा यात्राका कारण मुक्तिनाथ सडकमा करिब एक घण्टा सवारीसाधनको आवागमन रोकिएको थियो। यस पर्वमा घोडा दौडाउने, तारा खेल्ने र स्याब्रो नाच प्रदर्शन गर्ने जस्ता सांस्कृतिक गतिविधिहरू पनि हुने गर्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ