नेपाल–भारत सम्बन्ध सुमधुर र अत्यन्त प्रगाढ छ : कूटनीतिज्ञ सिम्खडा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
627
Shares
काठमाडौँ । परराष्ट्रविद् एवं कूटनीतिज्ञ डा.शम्भुराम सिम्खडाले नेपाल–भारतबीचको सम्बन्ध सुमधुर र अत्यन्त प्रगाढ रहेको बताएका छन् ।
राजधानीमा आयोजित नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणबारे साक्षात्कार कार्यक्रममा उनले नेपाल–भारतबीचमा कुनै जटिलता छन् भने पनि उच्च नेतृत्वको बीचमा छलफल भएर टुङ्ग्याउनुपर्ने बताए ।
उनले नेपाल–भारतबीच अत्यन्त पुरानो, व्यापक, पौराणिक, सभ्यतामा आधारित र भौगोलिक सम्बन्ध रहेको बताए । ‘दुवै पक्षका कुटनीतिज्ञहरुले र राजनीतिज्ञहरुले प्रगाढता र सामिप्तालाई ध्यानमा राखेर कुटनीतिको मूल उद्देश्य भनेको आफ्नो मुलुकलाई अन्य कारणबाट समस्या आउन दिन हुँदैन’, उनले भने ।
नेपाल र भारतबीचमा सकेसम्म कुनै समस्या सकेसम्म आउन नदिने र कथंकदाचित त्यस्ता समस्याहरु आइहाले भनेदेखि छिटोभन्दा छिटो समस्याको समाधान खोजिनुपर्ने उनको भनाइ छ ।
साथै अहिले प्रधानमन्त्री ओलीको भारत भ्रमणको पनि चर्चा चलिरहेको स्मरण गराउँदै उनले सो भ्रमणमा नयाँ विश्वासको वातावरण निर्माण गरिनुपर्ने बताए ।
‘भारत–नेपाल सम्बन्ध अत्यन्त महत्वपूर्ण छ । अत्यन्त प्रगाढ र व्यापक छ । यसलाई नयाँ उचाइमा पुर्याउनुपर्छ । केही अविश्वासका समस्याहरु छन् भनेदेखि यती महत्वपूर्ण सम्बन्धलाई दुवै पक्षले बुझेर अहिले जुन भ्रमणको चर्चा भइरहेको छ । त्यो भ्रमणले दुई देशबीच नयाँ विश्वासको वातारण, केही समस्या छन् भने त्यो समस्या चाहिँ कूटनीतिक मार्गबाट समाधान गर्ने बाटो खुलोस्’, उनले भने ।