महिला कोपा अमेरिकामा ब्रजिललाई कीर्तिमानी नवौँ उपाधि
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
704
Shares
काठमाडौँ । ब्रजिलले महिला कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । ब्रजिलले कीर्तिमानी नवौँ उपाधि जितेको हो । फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै ब्रजिलले उक्त सफलता हासिल गरेको हो ।
३९ वर्षीया मार्टा चम्किएपछि ब्रजिलले उपाधिमाथि कब्जा जमाएको हो । ६ पटक विश्वकी सर्वोत्कृष्ट खेलाडी घोषित भइसकेकी मार्टा बेन्चबाट मैदानमा छिरेपछि दुई गोल गरिन् । उनले इन्जुरी समयको छैटौँ मिनेटमा गोल गर्दै टिमलाई निर्धारित ९० मिनेटमा ३–३ को बराबरीमा ल्याइन् ।
अतिरिक्त समयमा एक गोल जोड्दै उनले ब्रजिललाई पहिलोपटक अग्रता दिलाइन् । ११५औँ मिनेटमा कोलम्बियाकी लेइसी सान्टोसले बराबरी गोल गर्दै खेल ४–४ बनाइन् ।
पेनाल्टी सुटआउटमा ब्राजिलकी गोलकिपर लोरेना डा सिल्भाले दुई पेनाल्टी बचाउँदै आफ्नो टिमलाई लगातार पाँचौं तथा कुल नवौं कोपा अमेरिका महिला उपाधि दिलाइन् ।
उपाधि भिडन्तमा ब्रजिल र कोलम्बिया चिरपरिचित प्रतिस्पर्धी हुन् । ब्रजिलले चारै पटक कोलम्बियालाई हराएर उपाधि जितेको हो ।
कोपा अमेरिका सन् १९९१ देखि खेल्न थालिएको हो । जसमा १० संस्करण सकिएका छन् । अर्जेन्टिनाले एक पटक उपाधि जित्दा बाँकी सबै ब्रजिलले सुरक्षित गरेको छ । फाइनलमा कोलम्बिया चार पटक, अर्जेन्टिना तीन पटक तथा चिली दुई पटक पराजित भएको छ । एक पटक भने अर्जेन्टिनाले उपाधि जित्दा ब्रजिल पराजित भएको थियो ।
विश्वकपमा ६ पटक र ओलम्पिकमा पनि ६ पटक खेलेकी मार्टाले ब्रजिलका लागि २०६ खेलमा १२२ गोल गरेकी छिन्।
ब्रजिलका लागि निर्धारित समयको खेलमा एन्जेलिना एलोन्सोले पहिलो हाफको अन्त्यमा र अमान्डा गुटिएरेसले ८०औँ मिनेटमा गोल गरेकी थिइन् । गुटिएरेसले प्रतियोगितामा कुल ६ गोल गर्दै पाराग्वेकी क्लाउडिया मार्टिनेजसँगै शीर्ष स्कोररको उपाधि बाँडिन् ।
कोलम्बियाका लागि निर्धारित समयमा लिण्डा कैसिडोले २५औँ मिनेटमा, मायरा रामिरेजले ८८औँ मिनेटमा र सान्टोसले ११५औँ मिनेटमा गोल गरिन्।
ब्रजिलकी डिफेन्डर टार्सियानेको आत्मघाती गोलले पनि कोलम्बियालाई अग्रता दिलाएको थियो। कोलम्बियाले तीन पटक अग्रता लिएको यो खेल अन्ततः ब्रजिलको पक्षमा गएर सकिएको हो ।