महोत्तरी। महोत्तरीसहित सम्पूर्ण प्राचीन मिथिला क्षेत्रमा अहिले राखी (रक्षाबन्धन) पर्वको रौनक छाएको छ। साउन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, समर्पण र सम्बन्धको प्रतीक मानिन्छ। यस वर्षको राखी पर्व आगामी शनिबार मनाइँदैछ।
राखी पर्व नजिकिएसँगै मिथिलाका बजार, सडक र टोलहरूमा विशेष चहलपहल बढेको छ। दिदीबहिनीहरू आफ्ना दाजुभाइलाई बाँधिदिने कलात्मक राखी (धागोका डोरा) किन्न व्यस्त छन्। अहिले किशोरी र नवयौवना मिथिलानीहरू दाजुभाइ को कहाँ छन् भनेर सोधखोज गर्दै उनीहरूलाई पर्वमा आउन निम्ता दिन लागिपरेका छन्।
कामको सिलसिलामा टाढा रहेका दाजुभाइहरू पनि घर फर्कने तयारीमा छन्। यसअघि हुलाकबाट राखी पठाउने चलन भए पनि अहिले मोबाइलबाटै कुराकानी गर्न पाइएपछि यो चलन हराउँदै गएको स्थानीयहरू बताउँछन्।
मिथिलामा दाजुभाइ र दिदीबहिनीबीचका तीन मुख्य पर्वहरू छन्: साउन शुक्ल पूर्णिमाको राखी, कात्तिक शुक्ल द्वितीयाको भैयादूज (भाइटीका) र कात्तिक शुक्लपक्षकै सामाचकेवा। यीमध्ये राखी वर्षको पहिलो पर्व भएकाले यसको विशेष महत्त्व रहेको १८ वर्षीया कीर्ति महतो बताउँछिन्।
राखी पर्वको उत्पत्तिबारे एक पौराणिक कथा प्रचलित छ। सत्ययुगमा दानवराज बलिकी बहिनीहरू गङ्गा र यमुनाले युद्धमा जानुअघि उनको विजयको कामना गर्दै रक्षाबन्धन बाँधेको र बलिले युद्ध जितेको विश्वास गरिन्छ। यसै परम्पराको सम्झनामा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको सौर्य र वृद्धिको कामना गर्दै राखी बाँध्ने गर्छन्।
यो पर्वको महत्त्वले गर्दा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने महिलाहरूले नजिकका नाता खोजेर पनि राखी बाँध्ने गर्छन्। अहिले यो पर्व हिन्दू समुदायका साथै मुस्लिम समुदायमा पनि मनाइन थालेको छ, जसले आपसी सद्भाव र सहिष्णुतालाई बढावा दिएको समाजशास्त्री शिवराज दाहाल बताउँछन्।