अस्पतालको विषयमा गुनासो आएपछि मन्त्री सिंह आकस्मिक अनुगमनमा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १७ शनिबार
681
Shares
सिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले सिरहास्थित प्रादेशिक अस्पतालको अनुगमन गरेका छन् । अस्पतालको सरसफाइ, औषधिको अभावलगायतका विषयमा गुनासो आएपछि मन्त्री सिंहले आकस्मिक अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा मन्त्री सिंहले अस्पतालमा सञ्चालित सेवा सुविधा अवलोकन गर्दै जनतालाई गुणस्तरीय सेवा दिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए ।
उनले भने, “स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । कुनै पनि नागरिकले सेवा लिन आउँदा अपमानित महसुस गर्नु हुँदैन, अस्पतालले नागरिकमैत्री व्यवहार र उच्चस्तरीय सेवा दिनुपर्छ ।”
विशेषगरी आइसियू, एनआइसियू, आकस्मिक कक्ष, र बाहिरङ्ग सेवामा गम्भीर ध्यान दिनुपर्ने बताउँदै उनले चिकित्सक तथा कर्मचारीलाई संवेदनशील र उत्तरदायी हुन आग्रह गरे ।
मन्त्री सिंहले १५० शय्याको यस अस्पताललाई विशेषज्ञ सेवा दिने स्तरमा पुर्याउन प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस