arrow

बढ्दै डेंगी सङ्क्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
dengue--ji-ha.jpeg
तस्बिर – फाइल ।

चितवन । साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेंगीको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेंगीको सङ्क्रमण देखिएको हो । 

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगीको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये १४ जना चितवनका हुन भने ६ जना जिल्ला बाहिरका रहेका छन् । 

भरतपुर महानगरपालिकाका– सात, खैरहनी नगरपालिकाका तीन तथा रत्ननगर र कालिका नगरपालिकाका दुई–दुई जनामा डेंगीको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमा पाँच पुरुष र नौ महिला रहेका उनले जानकारी दिए । 

वर्षा हुने र घाम लाग्दा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ र असोजमा डेंगीको सङ्क्रमण देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वासथ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । 

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरलगायतमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ । 

यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांशपेशी दुख्ने, शरीरमा विविरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखा पर्छ । 

डेंगी ज्वरोबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । यस्तै आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न दिन हुँदैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ