काठमाडौँ । यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार लोकगायिका तथा कलाकार कविता आलेलाई प्रदान गरिने भएको छ । ललितपुरको टिकाथलीस्थित ‘लोकप्रिय सरु संगीत घर’ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा आलेलाई उक्त पुरस्कारबाट सम्मान गर्ने भएको हो ।
पाँच दशकभन्दा बढी समयदेखि लोक संगीतको क्षेत्रमा सक्रिय रहेकी आलेले मौलिक सिर्जनामार्फत विशिष्ट योगदान पुर्याएको भन्दै उनलाई सम्मान गर्न लागिएको संस्थाले जनाएको छ ।
कलाकार तथा समाजसेवी स्व सरु (सरस्वती) निरौलाको स्मृतिमा उनका पति संगीतकार कोमल निरौला र परिवारले यो पुरस्कार स्थापना गरेका हुन् । गत वर्ष पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरी यस वर्षदेखि औपचारिक रूपमा पुरस्कार वितरण थालिएको जेठा छोरा तथा संगीतकार डेनी निरौलाले जानकारी दिए ।
प्रतिभा छनोट समितिको संयोजक संगीतकार कोमल निरौला छन् भने सदस्यहरूमा वरिष्ठ संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई र साहित्यकार डा रत्नमणि नेपाल रहेका छन् । डेनी निरौला समितिकी सदस्यसचिव हुन् ।
२५ हजार नगद राशिसहितको पुरस्कार आगामी भदौ १४ गते एक समारोहबीच प्रदान गरिने भएको छ ।