दिक्तेलका मेयरको जीवनरक्षा गर्न मानव अधिकार आयोगको सरकारलाई आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
597
Shares
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको जीवनरक्षाका लागि आग्रह गरेको छ। विभिन्न माग राख्दै साउन ११ गतेदेखि माइतीघर मण्डलामा अनशन बसिरहेका भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आयोगले सरकारको ध्यानाकर्षण गराएको हो।
मेयर भट्टराईले विभिन्न महत्त्वपूर्ण विषयहरूलाई लिएर अनशन बसेका छन्। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार, उनका मुख्य मागहरू यसप्रकार छन्:
जैविक विविधता र परम्परागत संस्कृतिको संरक्षणका लागि नीति निर्माण गर्न पहलकदमी। बाँसको प्रवर्द्धन र खोटाङलाई 'बाँसको राजधानी' घोषणा गर्नुपर्ने। जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्नुपर्ने। गिट्टी क्रसर उद्योगहरूलाई मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने। निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को निर्माण कार्य गर्न नदिने व्यवस्था मिलाउनुपर्ने। बाँदर तथा अन्य जङ्गली जनावर नियन्त्रणका लागि नीति बनाउनुपर्ने।
आयोगले अनशनस्थल माइतीघर र वीर अस्पताल पुगेर अवस्थाको अनुगमन गरेको थियो। यस क्रममा आयोगले अनशनरत भट्टराई, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, र वीर अस्पतालका चिकित्सकहरूसँग पनि जानकारी लिएको थियो।
आयोगले भट्टराईको स्वास्थ्योपचारमा विशेष ध्यान दिन र वार्ताका माध्यमबाट समस्याको समाधान गरी उहाँको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ।