कांग्रेसमा व्यक्तिगत महत्त्वाकांक्षा छाडेर एकतामा जोड दिन परराष्ट्रमन्त्री देउवाको आग्रह
पार्टीको १५औँ महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा हुने भए पनि कसैलाई काखा र कसैलाई पाखा नलगाई एकढिक्का भएर पार्टी झन् बलियो र सुदृढ हुने
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
884
Shares
पोखरा। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले पार्टी सङ्गठनभित्र व्यक्तिगत कुरालाई लिएर असमझदारी बढाउन नहुने बताएकी छिन्। नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि यसैका कारण पार्टीलाई विभाजित गराउन नहुनेमा जोड दिइन्।
मन्त्री देउवाले पार्टी व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्ने ठाउँ नभई राष्ट्र र समाजका लागि योगदान गर्ने थलो भएको स्पष्ट पारिन्। उनले कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूको अतुलनीय योगदानका कारण पार्टी यस स्थानमा आइपुगेको बताउँदै उनीहरूका मार्गदर्शनलाई आत्मसात् गर्दै अघि बढ्न जरुरी रहेको उल्लेख गरिन्।
"उहाँहरूले धेरै ठूलो योगदान गर्नुभएको छ, उहाँहरूले देखाउनुभएको मार्गदर्शनमा कांग्रेस पार्टी हिँड्नु एकदमै जरुरी छ," उनले भनिन्, "हामी हरेकको बोली, आचरण, व्यवहारमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने भयो भने पार्टी बलियो बन्छ।"
आसन्न पार्टीको १५औँ महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा हुने भए पनि कसैलाई काखा र कसैलाई पाखा नलगाई एकढिक्का भएर पार्टी झन् बलियो र सुदृढ हुने विश्वास उनले व्यक्त गरिन्।
डा. देउवाले नयाँ दलहरूले सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिरहेको प्रसंग उल्लेख गर्दै कांग्रेसले पनि सकारात्मक ऊर्जा प्रवाह गर्ने गरी सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्नु जरुरी भएको धारणा राखिन्।
पछिल्ला समयमा 'देशमा केही भएको छैन' भन्ने नकारात्मक भाष्यलाई बढी प्रचार गर्न खोजिएको जनाउँदै उनले युवा पलायनलाई रोक्दै सकारात्मक सन्देश प्रवाहका साथ देशमै रहने र केही गर्ने किसिमले अघि बढ्नु सबैको दायित्व भएको बताइन्।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले स्थापनाकालीन राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल्य-मान्यतालाई भुल्न नहुने बताए। गुटगत विभाजनमा नलागी पार्टीलाई एकताबद्ध बनाएर लैजानु अपरिहार्य भएको उनको भनाइ छ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेस राष्ट्रका जस्तासुकै चुनौतीलाई समाधान गर्दै अघि बढ्न सक्ने पार्टी भएको बताए।