थानकोट-चित्लाङ सडक स्तरीकरणलाई गति दिन मन्त्री दाहालको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
664
Shares
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँलाई जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट-चित्लाङ सडकको स्तरीकरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। आज सो सडकको निरीक्षणपश्चात् उनले यो खण्ड आर्थिक विकास र समृद्धिको लागि महत्त्वपूर्ण सहयोगी बन्ने बताए।
मन्त्री दाहालले थानकोट-चित्लाङ सडकले मकवानपुरका कृषि उपजहरूलाई काठमाडौँसम्म पुर्याउन तथा पर्यटकीय क्षेत्रको विकास गर्नसमेत सहयोग पुर्याउने भएकाले यसले समग्र आर्थिक विकासलाई टेवा पुर्याउने विश्वास व्यक्त गरे। उनले निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै कुनै पनि आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न आग्रह गरे। विकासका संरचनाहरूले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने धारणा राख्दै उनले यो सडक आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले यसको निर्माणमा तदारुकता दिनुपर्नेमा जोड दिए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले यो सडक मकवानपुर र काठमाडौँका बासिन्दाका लागि मात्र नभई पूर्वी नेपालसहित बागमती, मधेस र लुम्बिनी प्रदेशसँगको सम्पर्कका लागि पनि अत्यन्तै महत्त्वपूर्ण रहेको बताए। यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि बहुउपयोगी हुने अपेक्षा गरिएको यो सडक बिना अवरोध शीघ्र सम्पन्न गराउन आवश्यक रहेकोमा उनले जोड दिए।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले कुनै पनि ढिलासुस्ती हुन नदिई निर्माणलाई गति दिने प्रतिबद्धता व्यक्त गरे। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्काका लागि काम अघि बढिसकेको छ।
निरीक्षणमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, बुद्धिजीवी सङ्गठनका अध्यक्ष इञ्जिनियर गजेन्द्र थपलियालगायत को पनि सहभागिता थियो। सडक डिभिजन काठमाडौँका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि दुई प्याकेजमा ठेक्का लागि काम भइरहेको छ। यो सडकको आठ दशमलव पाँच किलोमिटर खण्ड काठमाडौँतर्फ पर्दछ।