arrow

हुम्लाको चङ्खेलीमा अज्ञात रोगले तीस भन्दा बढी पशुवस्तु मरे, सयौँ बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
District-61-Humlat-hamrakura.jpg.jpeg

अदानचुली (हुम्ला)। हुम्लाको चङ्खेली गाउँपालिकामा एक सातादेखि फैलिएको अज्ञात रोगका कारण ३० भन्दा धेरै पशुवस्तु मरेका छन्। गाउँपालिका–६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशुवस्तुहरू यस रोगबाट प्रभावित भएका हुन्।

स्थानीय हरिबहादुर शाहीले दिएको जानकारी अनुसार, अचानक पशुवस्तुको पेट र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने र ¥याल काड्ने जस्ता लक्षण देखिएका छन्। यस रोगले हालसम्म एक भैँसी, एक कुकुर, छ दुहुना गाई, अन्य नौवटा गाई तथा १४ भन्दा धेरै गोरुलगायतका पशुवस्तु मरेका छन्। यही साउन ८ गतेपछि फैलिएको यो रोगले शाहीको मासिधारा लगायतका क्षेत्रमा कृषकका ३० भन्दा बढी पशुवस्तु मरेपछि ठूलो आर्थिक क्षति पुगेको छ।

अधिकांश पशुवस्तु जङ्गलतिरका खर्कमा रहेकाले अन्य पशुवस्तुबारे यकिन विवरण आउन बाँकी छ। खर्कमा अझै एक भैँसी बिरामी भई पालमा राखिएको छ भने अन्य गाईगोरुसमेत थला परेका छन्। अज्ञात रोगको महामारीका कारण पशुवस्तु मर्न थालेपछि खर्क क्षेत्रको जङ्गल गन्हाउने भएको छ।

स्थानीयका अनुसार, सोही खर्कमा मात्रै नभई विभिन्न गाउँका खर्कमा १०० भन्दा बढी पशुवस्तुहरू अझै बिरामी परेका छन्। शाहीले गाउँपालिकाको पशुशाखामा औषधिका लागि गए पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको गुनासो गरेका छन्।

यहाँ हिउँदका लागि पशुवस्तुलाई घाँस सङ्कलन, बर्खेबालीको संरक्षण र गर्मीमा हुने रोग छल्नका लागि पशुवस्तु खर्कमा लिने प्रचलन छ। पशु स्वास्थ्यकर्मीको अभाव र अज्ञात रोगको प्रकोपले यस क्षेत्रका पशुपालक किसानहरू ठूलो मारमा परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ