बजेट अनुशासन सुदृढ गर्न अर्थ मन्त्रालयद्वारा कार्यदल गठन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
621
Shares
काठमाडौँ। अर्थ मन्त्रालयले बजेट अनुशासनलाई थप सुदृढ गर्नका लागि कानुन निर्माण गर्न एउटा कार्यदल गठन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले दिएको जानकारीअनुसार, अर्थ मन्त्रालयको वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख महेश बराललाई कार्यदलको संयोजक तोकिएको छ।
कार्यदलमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपसचिव, कानून तथा फैसला महाशाखाका उपसचिव र पूर्व सहसचिव निर्मलहरी अधिकारी विषयविज्ञका रूपमा सदस्य रहेका छन्। वित्तीय सङ्घीयता महाशाखाका उपसचिव कार्यदलको सदस्य सचिवका रूपमा रहेका छन्।
यो कार्यदल चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. ३५९ मा उल्लेख गरिएका लक्ष्यहरू पूरा गर्नका लागि गठन गरिएको हो। ती लक्ष्यहरूमा विनियोजन कुशलता कायम गरी सार्वजनिक वित्तको प्रभावकारिता वृद्धि गर्ने, बजेट अनुशासनबाट सार्वजनिक खर्चको उपलब्धि बढाउने, संघीय सञ्चित कोषलाई सन्तुलनमा राख्न नगद प्रवाह व्यवस्थापनलाई सुदृढ बनाउने, सार्वजनिक ऋणको उत्पादनशील उपयोग र दिगोपन सुनिश्चित गर्ने तथा राष्ट्रिय वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन गर्ने कुराहरू समावेश छन्।
साथै, बजेटको बुँदा नं. ३७१ मा संविधानले निर्दिष्ट गरेबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माण गर्ने र तीनै तहमा लागू हुने गरी सार्वजनिक खर्च मापदण्ड तर्जुमा गर्ने उल्लेख छ। यही व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले यो कार्यदल गठन गरेको हो। संविधानको धारा ५९ मा सङ्घ, प्रदेश र स्थानीय तहको बजेट घाटा व्यवस्थापन तथा अन्य कानून अनुशासन सम्बन्धी व्यवस्था सङ्घीय कानुनबमोजिम हुने उल्लेख छ।