नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक दिल्लीमा सम्पन्न, सीमास्तम्भको मर्मतमा नयाँ प्रविधि प्रयोग गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
551
Shares
काठमाडौँ। नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक मङ्गलबार भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ। यस बैठकले नेपाल र भारतबीचको सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको निरीक्षण र मर्मतसम्भारको कामलाई थप प्रभावकारी बनाउन सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउने सहमति जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार, बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस मकवानाले गरेका थिए।
बैठकले अगस्ट २०१९ मा देहरादूनमा आयोजित छैटौँ बैठकको नतिजाको कार्यान्वयनको समीक्षाका साथै सोही वर्षको सेप्टेम्बरमा सोही स्थानमा आयोजित नापी विभागका अधिकारी सम्मिलित बैठकको कार्य प्रगतिको पनि समीक्षा गरेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।
बैठक विभिन्न सहमतिपत्रमा हस्ताक्षरसँगै समापन भएको छ। दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आगामी महिना नेपालमा आयोजना गर्ने निर्णय गरेका छन्। त्यस्तै, सीमा कार्यदलको अर्को बैठक दुवै देशलाई अनुकूल हुने मितिमा नेपालमा गर्ने सहमति पनि भएको छ।
सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन् २०१४ मा गठन भएको संयुक्त निकाय हो। यसले दुई देशबीचको सीमासम्बन्धी मामिलामा समन्वय र सहकार्य गर्दै आएको छ।