सुर्खेत । भेरी नदीमा पानीको सतह बढेको भन्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। भेरी नगरपालिका–१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्ना जलमापन केन्द्रमा पानीको बहाव बढेको सूचना प्राप्त भएपछि प्रशासनले यस्तो आग्रह गरेको हो।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, "जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ। नदीको किनारमा रहेका बस्तीका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। प्रहरीलाई पनि यसबारे खबर गरिएको छ।"
डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि भेरी नदीमा पानीको सतह केही बढेकाले सतर्क रहन आग्रह गरेका छन्।