मिथिलामा झुला पर्व शुरु, मठ-मन्दिरमा भक्तजनको घुइँचो
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
486
Shares
महोत्तरी । मधेसको मिथिला क्षेत्रमा अहिले झुला महोत्सवको माहोल छाएको छ। साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने यो पर्व आइतबार साँझदेखि विधिवत् रूपमा शुरु भएको हो।
यो पर्व घर-घरमा भन्दा पनि मठ-मन्दिरमा सामूहिक रूपमा मनाइन्छ। भगवान विष्णु र लक्ष्मीका अवतार मानिने राम-सीता र कृष्ण-राधाका प्रतिमालाई विशेष झुला (कलात्मक पिङ) मा झुलाउनु (हल्लाउनु) नै यस पर्वको मुख्य विधि हो। झुलामा राखिएका प्रतिमालाई डोरी समातेर झुला गीत गाउँदै श्रद्धालुहरूले झुलाउने गर्छन्, जसले भक्तिमय वातावरण सिर्जना गर्छ।
महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमालाई डोलीमा राखेर बाजागाजासहित झुलाघर पुर्याएर पर्वको शुरुवात गरिएको छ। यो पर्वमा आम सर्वसाधारण आफ्नो बस्ती नजिकको मठ वा मन्दिरमा भेला भई भजन-कीर्तन गाउँदै सीताराम र राधाकृष्णका प्रतिमा राखिएका झुला हल्लाउँदै नाच्दै भक्तिमा लीन हुन्छन्। झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ। झुलनोत्सव भनिने यो पर्व प्राचीन मिथिला क्षेत्रका सबैतिर मनाइए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र जनकपुरस्थित जानकी मन्दिरको झुला महोत्सव निकै प्रसिद्ध छ।
मिथिलामा यो पर्व राम जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकीमा भित्रिएको विश्वास गरिन्छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएकाले ज्वाइँलाई प्रसन्न गराउनुपर्ने मैथिल परम्पराअनुसार यो पर्व मनाउन विसं १७८७ तिर सन्त सुरकिशोर दासले शुरु गराएको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवले बताए।
जनकपुरमा रामसीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिनुभएको हिरा, रत्न र मणिमाणिक्यको थुप्रो लागेको र त्यो पहाडजस्तै बनेको बताइन्छ। अहिले मणिपर्वत भनिने सो ठाउँ जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित छ। झुला पर्वमा साउन शुक्ल तृतीयाका दिन यसै मणिपर्वतको पूजा गरेर पर्व शुरु गरिने मिथिला परम्परा छ।
महोत्तरीको मटिहानीमा छुट्टै झुलाघर निर्मित छ। जहाँ लक्ष्मीनारायण मठ र मन्दिरबाट विष्णुलक्ष्मीका प्रतिमा डोलीमा बोकेर ल्याई झुलामा झुलाइन्छ। मटिहानीमा अहिले जिल्लाका र सीमावर्ती भारतका दर्जनौँ मठ-मन्दिरका प्रतिमा झुलाका लागि ल्याइएका छन्। पर्वभरि साधु-सन्तहरू केन्द्रमा जम्मा भई पर्वमा रमाइलो गर्छन्। यो मिथिलाको परम्परासँग जोडिएको खास सांस्कृतिक पर्व रहेको मैथिल लोकसंस्कृतिका अध्येता एवं मिथिला माहात्म्यका नेपाली अनुवादक जलेश्वर–५ का बासिन्दा ध्रुव रायले बताए।
साउन पूर्णिमाका दिन विष्णुलक्ष्मीका प्रतिमा झुलाइने झुलनाको डोरी चुँडालेर पर्व समापन गरिने मैथिल परम्परा छ।