arrow

काठमाडौँसहित पहाडी क्षेत्रमा वर्षा, तराईमा अझै पर्याप्त परेन पानी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
monsoon-weather-cloud-rain.jpg

काठमाडौं । आज बिहानैदेखि काठमाडौँलगायत देशका विभिन्न पहाडी क्षेत्रमा वर्षा भएको छ। केही स्थानमा भारी वर्षा नजिक (मध्यम) वर्षा मापन गरिएको छ भने तराईका अधिकांश क्षेत्रमा भने अझै पर्याप्त वर्षा भएको छैन।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालका अनुसार, हाल देशभर साधारणतया बदली रहेको छ। तराईका उत्तरी भूभागमा थोरै वर्षा भए पनि दक्षिण क्षेत्रमा भने हल्का पानी परेको र त्यो पर्याप्त नरहेको उनले बताए। अहिलेको मनसुनी प्रणाली खासै ठूलो नरहेको पनि उनको भनाइ छ।

पछिल्लो ६ घण्टाको तथ्याङ्कअनुसार, धनकुटाको मछुवाघाटमा ४२ मिलिमिटर, गोरखाको आरुघाटमा ४२.२ मिलिमिटर, कास्कीको लाम्पाटनमा ४४.८ मिलिमिटर र मुगुको गमगढी श्रीनगरमा ४०.८ मिलिमिटर वर्षा भएको छ। यी क्षेत्रमा भारी वर्षाको नजिकको अवस्था रहेको छ। यसै अवधिमा काठमाडौँमा १५ मिलिमिटर आसपासको मध्यम वर्षा मापन भएको छ भने गोरखामा ४१.६ मिलिमिटर वर्षा भएको छ।

पछिल्लो १२ घण्टामा इलाम, लमजुङ, नुवाकोट र सिन्धुपाल्चोकका केही क्षेत्रमा भारी वर्षा भएको छ। पछिल्लो २४ घण्टामा भने सिन्धुपाल्चोकको नार्पूगाउँमा १२७.४ मिलिमिटर र धनकुटाको त्रिवेणी मापन केन्द्रमा ११२.८ मिलिमिटर सबैभन्दा बढी पानी परेको विभागले जनाएको छ। सोही अवधिमा काठमाडौँमा ८२.८ मिलिमिटर र नुवाकोटमा ८६.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको विभागले जनाएको छ।

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आगामी २४ घण्टामा कोशी प्रदेशको तराई भू–भाग तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ