परिवार व्यवस्थापन र यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
445
Shares
गण्डकी । नेपाल परिवार नियोजन सङ्घले गण्डकी प्रदेश सरकारलाई परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी बढाउन आग्रह गरेको छ। यस क्षेत्रमा गरिएको लगानीले किशोरकिशोरी तथा महिला स्वास्थ्यमा उल्लेखनीय सुधार आउने सङ्घको भनाइ छ।
सङ्घद्वारा यहाँ आयोजित 'गण्डकी प्रदेशमा परिवार नियोजन एवं यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको अवस्था' विषयक पैरवी कार्यक्रमका सहभागीहरूले सो आग्रह गर्दै प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको पहुँच सुनिश्चितता गराउनुपर्नेमा जोड दिएका छन्।
स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको सुनिश्चितता गराउने जानकारी दिए। उनले प्रदेशमा यस सेवाका लागि आवश्यक बजेट विनियोजनसमेत गरिने बताए। "प्रदेश सरकारले सबै जनतामा गुणस्तरीय स्वास्थ्यको पहुँच अभिवृद्धि गर्न उच्च प्राथमिकता एवं लगानी गरेको छ," मन्त्री पाठकले भने, "यस क्रममा परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा लगानी वृद्धि गरिनेछ।" उनले नेपाल परिवार नियोजन सङ्घले गरिरहेको सेवाको प्रशंसा गर्दै आगामी दिनमा सेवा जारी राख्न सङ्घलाई आग्रह गरे, जसमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी पनि दिए।
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा कृषि समितिका सभापति दमयन्ती रुचाल, राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ, प्रदेशसभा सदस्यहरू सरस्वती गुरुङ, प्रकाश बराल, देवका पहारी, गणेशमान गुरुङ र नन्दकला नेपालीले यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे प्रतिबद्धता जनाउँदै परिवार नियोजनको आधुनिक साधनको मागलाई पूरा गर्न ध्यान दिन आग्रह गरे। उनीहरूले यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी नीति तर्जुमा र बजेट विनियोजन गर्न समेत सहयोग गर्ने बताए।
प्रदेश नीति तथा योजनाका सदस्य दुर्गा अधिकारी र स्वास्थ्यकर्मी विद्या कोइरालाले यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई कार्यान्वयनमा लैजान मिलेर काम गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले गण्डकी प्रदेशमा स्वास्थ्य तथा परिवार योजना, प्रजनन स्वास्थ्य अधिकारको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै गण्डकी प्रदेशमा लैङ्गिक असमानता दर बढेको बताए। उनका अनुसार, ४५ हजार छोरा जन्मिएकामा ३९ हजार मात्र छोरी छन्
नेपाल परिवार नियोजन सङ्घका अनुगमन मूल्याङ्कन निर्देशक चेतराज जोशीले परिवार योजनामा लगानी गर्दाका फाइदा एवं विपद्का समयमा परिवार व्यवस्थापन तथा प्रजनन स्वास्थ्य सेवाका आवश्यकताका बारेमा कार्यपत्र प्रस्तुत गरे। सोही कार्यक्रममा स्वास्थ्यमन्त्री पाठकले गण्डकी प्रदेशका प्रजनन उमेर समूहका सबै व्यक्तिमा गुणस्तरीय परिवार नियोजन सेवाको सुनिश्चितता गराउने एवं प्रदेशमा यस सेवाका लागि आवश्यक बजेट विनियोजन गर्नका लागि लिखित प्रतिबद्धता जनाएका थिए।
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको आर्थिक सहयोगमा सम्पन्न सो कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घ कास्की शाखाका सभापति नवीन सिग्देलले सङ्घले गरिरहेका कामका बारेमा जानकारी दिँदै परिवार व्यवस्थापन एवं यौन तथा प्रजनन स्वास्थ्यका बारेमा ग्रामीणस्तरमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना लगायतले परिवार व्यवस्थापन तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको महत्त्व र लगानी बढाउन पैरवी आवश्यकता रहेको बताए।