arrow

राहत शिक्षकका माग सम्बोधन नभए देशव्यापी आन्दोलनको चेतावनी

अनिवार्य वा स्वेच्छिक अवकाश लिने राहत शिक्षकहरूका लागि गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्नुपर्ने माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
rahat-sikchak.jpg

काठमाडौं । नेपाल राहत शिक्षक राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयकमा आफ्ना मागहरू समावेश नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिले राहत शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई पेशागत निरन्तरता नदिए कडा सङ्घर्षमा उत्रिने बताएको हो।

पत्रकार सम्मेलनमा बोल्दै समितिका महासचिव जीवन तिमिल्सिनाले अनिवार्य वा स्वेच्छिक अवकाश लिने राहत शिक्षकहरूका लागि गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्नुपर्ने माग राखे। उनले खाली राहत दरबन्दीलाई स्वतः स्वीकृत दरबन्दीमा परिणत गरी खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नुपर्ने र शिक्षक सेवा आयोगका सबै खुला प्रतिस्पर्धामा कार्यरत राहत शिक्षकहरूका लागि उमेर सीमा हटाई सहभागी हुने व्यवस्था गरिनुपर्ने माग पनि राखे। उनले समितिले आफ्ना मुद्दाहरू शिक्षा ऐनमा समावेश गराउन शिक्षक महासंघमार्फत सरकारलाई दबाब दिने समेत बताए।

समितिले शिक्षक महासंघले राहत शिक्षकको पक्षमा आवाज नउठाएमा र विधेयकमा व्यवस्थापन नगरेमा देशभर सरकार प्रमुखको पुत्ला दहन गर्ने, विधेयकको प्रतिलिपि जलाउने, विधेयक पास भएको भोलिपल्ट कालोपट्टी बाँधेर पढाउने तथा शिक्षक महासंघको नाममा एक छाक नुन बार्ने लगायतका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ