काठमाडौं । धादिङको बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीको जीवनमा अप्रत्याशित रूपमा ठूलो खुसी आएको छ। विगतमा ऋण र कठिनाइले घेरिएकी उनी एनसेलको बम्पर उपहार योजनाअन्तर्गत १ करोड रुपैयाँको विजेता बन्न सफल भएकी छन्। यो रकमले उनको जीवनमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
साउन २ गते शुक्रबार, घरधन्दा सकेर मेलापात जाने तरखरमा रहँदा पानी दर्किएपछि पार्वती कार्कीले आफ्नो मोबाइल घरमै छाडेकी थिइन्। मेलापात सकेर घर फर्किँदा मोबाइलमा नयाँ नम्बरबाट धेरै मिस्डकल देखेकी उनलाई केही समयपछि काठमाडौंस्थित एनसेलको केन्द्रीय कार्यालयबाट फोन आयो। फोनमा बोल्ने व्यक्तिले उनको परिचय, ठेगाना र परिवारबारे सोधेपछि एनसेल मुख्यालयमा आउन आग्रह गरे। सुरुमा कारण नखुलाए पनि पछि "उपहार परेको" जानकारी गराए।
कार्कीले यो कुरा सासूससुरा, विदेशमा रहेका श्रीमान् र काठमाडौंमा पढ्दै गरेका छोरालाई सुनाइन्। सुरुमा कसैलाई पनि विश्वास लागेन र झुक्क्याएको हुन सक्ने आशङ्का गरियो। तर, काठमाडौंमा रहेका देवरले एकपटक आउन सुझाव दिएपछि भने उनलाई साँच्चिकै पुरस्कार परेको हुन सक्ने लाग्यो।
मेलापातको काम थाँती राखेर परिचय खुल्ने कागजात बोकी उनी आइतबारै काठमाडौंका लागि गाडी चडिन्। भोलिपल्ट बिहान उनी छोरा र देवरलगायतका साथमा लैनचौरस्थित एनसेल कार्यालय पुगिन्। "एनसेल कार्यालय आउँदासम्म मलाई कुन र कति उपहार परेको हो भन्ने थाहै थिएन," शुक्रबार एनसेलको बम्पर उपहार प्राप्त गरेपछि उनले भनिन्, "अफिसमा सबै कागजपत्र जाँच भएपछि मलाई एक करोड रुपैयाँ परेको भनेर जानकारी दिनुभयो, सुरुमा त मलाई यो कसरी सम्भव भयो भनेर बुझ्नै सकिँन।"
कार्कीलाई उपहारमा १ करोड रुपैयाँ दिने एनसेलसँगको उनको सम्बन्ध झण्डै आठ वर्षअघिको हो। उनले भनिन्, "स्थानीय आरुघाटस्थित बजारमा सात-आठ वर्षअघि किनेको सिमकार्ड हो, बेलाबेलामा एनसेलको '९९ को प्याक' लिने गर्नुहुन्थ्यो। आज त्यही प्याकले १ करोड जितायो, निकै खुसी लागेको छ, अबका दिनमा पैसाको दुःख हट्ने भयो भन्ने मनमा लागेको छ।"
पार्वती कार्कीको जीवन कैयौँ दुःख र पीडाले गुज्रिएको छ। श्रीमान्सँग मिलेर उनले कडा संघर्ष गरेका दिनहरू उनको मनमा अझै ताजै छन्। श्रीमान्ले विदेशमा र आफूले घरधन्दा गर्दै महिला स्वयंसेविकाका रूपमा गाउँमा काम गर्न थालेको झण्डै डेढ दशक भइसकेको छ।
विसं २०७२ वैशाखको भूकम्पले उनको जीवनमा अर्को ब्रजपात ल्यायो। बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले निर्माण सकिएर सर्न ठिक्क परेको घर भत्कायो, त्यतिमात्र होइन, एक महिना दुई दिनको कान्छो छोरा पनि गुमाउनुपर्यो। हाल धादिङबेंसीबाट सल्यानटार हुँदै गङ्गाजमुना गाउँपालिका–६ बाङ्गेपीपल बसेरीमा उनको सानो घर छ। विदेशमा श्रीमान्ले कमाउनेबाहेकको आयस्रोत छैन, यद्यपि महिला स्वयंसेविकाका रूपमा थोरै भत्ता आउँछ। मकै, कोदो, धानखेतीका साथै सिजनअनुसारको तरकारी पनि फलाउँछिन् उनी।
कक्षा ९ मा फेल भएपछि विद्यालय छाडेकी कार्कीको २३ वर्षको उमेरमा विवाह भएको थियो। आर्थिक अवस्था कमजोर भएकाले श्रीमान् धन कमाउन विदेश लागेपछि घर सम्हाल्ने जिम्मा उनको काँधमा आयो। खाडीमा श्रीमान्ले ज्यानको बाजी राखेर काम गर्दै घरखर्च पठाउँथे। तर विदेशमा पनि भनेजस्तो नभएपछि श्रीमान्ले देशमै जागिर गर्न सुझाव दिए। ऋणधन गरेर काठमाडौंमा पसल सुरु गरे पनि केही महिनामै थप ऋणमा डुब्यो। ९ लाख रुपैयाँमा सुरु गरेको पसल बिक्री गर्दा ६० हजार पनि आएन।
चर्को ब्याजदरको ऋण र बिरामी शरीर बोकेर कार्कीका श्रीमान् झण्डै दुई वर्षअघि बहराइन पुगेका थिए। तर त्यहाँ पनि भनेजस्तो काम पाएनन्। ऋणको बोझले गर्दा जागिरै छाडेर घर आउन नसकेका उनी अहिले पनि बहराइनमै छन्। "दुई वर्षपछि आउने भन्नुहुन्थ्यो, अब भदौमा दुई वर्ष पुग्छ, त्यसपछि बिदा पाइन्छ भन्नुभएको छ," उनले भनिन्। बहराइनमा श्रीमान्को शरीरमा 'एलर्जी' नामक नयाँ रोग थपिएको छ, जसले गर्दा कहिले शरीर सुन्निने त कहिले गाह्रो बनाइरहन्छ। तैपनि उनले महिनामा १५-२० हजार रुपैयाँ पठाइरहन्छन्, जुन जेनतेन ऋणको ब्याज तिर्न मात्रै पुग्छ।
एनसेलबाट प्राप्त १ करोड रुपैयाँमध्ये २५ लाख रुपैयाँ सरकारलाई कर बुझाएपछि बाँकी रकम अहिले उनको खातामा आइसकेको छ। यो रकमले जीवन सहज बनाउने उनको विश्वास छ। प्राप्त रकमले पहिलो काम ऋणको भारी बिसाउने योजना छ। "यो ऋण कहिले सकिएला र सुख पाइएला भन्ने हुन्थ्यो, अब उपहारमा पाएको यो पैसाले सबैभन्दा पहिले ऋण तिर्छु, अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन," उनले भनिन्।
ऋण चुक्ता गरेपछि बचेको पैसाले नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच कार्कीको छ। "यो पैसालाई राम्रो ठाउँमा सदुपयोग गर्न सकियो भने भोलिका दिन सहज हुन्छ भन्ने थाहा छ, त्यसैले अब श्रीमान्लाई नेपालमै राखेर दुवै जना काम गर्छौं," उनी भन्छिन्। साथमा छोराले 'प्लस टु' पढिरहेको छ, जसको पढाइमा पनि ठूलो खर्च हुन्छ। बाँकी पैसा छोरालाई पढाउनमा खर्च गर्ने कार्कीको योजना छ।