झापा । रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ले देशभर ५० हजार विरुवा रोपण गरेको छ ।
मानवताको सेवामा समर्पित रोटरीले वातावरण संरक्षणलाई विशेष महत्व दिँदै शनिबार एकैदिन ५० हजार वटा बिरुवा रोपेको रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’का एसिस्टेन्ट गभर्नर विनोद चापागाईंले जानकारी दिए ।
नेपालमा रोटरी इन्टरनेसनलका एक सय ६० भन्दाबढी क्लब छन् । भुटानमा एउटा क्लब रहेको छ ।
नेपाल र भुटानमा रहेका सबै क्लब रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ अन्तर्गत रहन्छन् ।
वातावरण संरक्षण गरेर भावी पुस्तालाई साझा बासस्थानका रुपमा रहेको स्वच्छ पृथ्वी हस्तान्तरण गर्नु अहिलेको पुस्ताको कर्तव्य भएको बताउँदै रोटरी क्लब अफ मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले मेचीनगर क्षेत्रमा फूल प्रजातिका तीन सय भन्दा बढी बिरुवा आज रोपिएको जानकारी दिए ।
झापामा रहेका आठ वटा क्लबले शनिबार नै तीन हजारभन्दा बढी बिरुवा रोपेको रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’का पूर्वएसिसेन्ट गभर्नर एवं रोटरी क्लब अफ सुरुङ्गाका पूर्वध्यक्ष कुमारमणि पोखरेलले बताए ।
“जलवायु परिवर्तनका कारण विश्वमा हिमाल पग्लिएर ठूलाठूला बाढी आउनेदेखि समुद्रमा पानीको सतह बढेर किनारका सहर डुब्नेजस्ता सङ्कट विश्वव्यापी रुपमा देखा परिरहेका छन्”, पोखरेलले भने ।
उनले भने, “तापक्रम कम गर्ने उपाय भनेकै वृक्षरोपण हो, कार्बन उत्सर्जन न्यूनीकरण गर्न पनि रुखहरुको भूमिका हुन्छ, त्यहीकारण रोटरी इन्टरनेसनलले वृक्षरोपण अभियान सञ्चालन गरेको हो ।”
रोटरी क्लब अफ मेचीनगरले मेचीनगर-१० स्थित पर्यटकीयस्थल निन्दा करिडरमा फूल प्रजातिका बिरुवा रोपेको छ ।
रातो सिरिस, ज्याकरान्डालगायत ५० वटा बिरुवा घेराबेरासहित रोपिएको र अन्य खाली स्थानमा दुई सय ५० भन्दाबढी बिरुवा रोपिएको क्लबकी अध्यक्ष पाठकले जानकारी दिए । रासस