अब
आकाश मौन बस्न हुन्न
निरन्तर
पहाडहरू लम्पसार सुत्न हुन्न
अजङ्गका पर्खालहरू
नाघे नाघिएला
ननाघे ननाघिएला
यात्रा रोक्न हुन्न
यात्रीहरूको अदम्य साहस
संघर्षपूर्ण छ
अन्यायविरुद्ध थालिएको यात्रा
आफैँमा महान् छ
यात्रा अगाडि बढाउ
आज कस्तरी क्षितिज उघ्रिएको छ
ताल न बेताल
बेला न कुबेला
साइत बिगार्दै
पिउनेहरू पिइरहेछन् मदिराका प्याला
यात्रा अवरुद्ध पार्ने गरी
जिउनेहरू जिइरहेछन्
धरतीको गर्भभित्र
प्रशव पीडाले छट्पटिएर धरती
धरती पुत्र जन्माउन आतुर छिन्
गर्भ भन्नु के नै हो र ?
एक चोक्टा मासुको डल्लोलाई सम्झेर
आज कस्तरी रोएकी छिन् आमा
आमा ! भो नरोउ
सन्तान गुमाएको पीडा बिर्सेर
तिमीले नयाँ यात्रा थाल्नुपर्छ
बाबुहरू त युद्धमा छन्
सिट्टी बज्छ जब
होमिन्छन् युद्धमा फाल हाल्दै
लाहुरे हुनुको नमीठो यथार्थ बिर्सेर
बिरानो मुलुकको सीमा रेखा कोर्न
मान्छेहरू पटमुर्ख भएका हुन किन ?
बुझेनन् हिउँदको चम्किलो सूर्य
सूर्य झुल्कन्छ
एउटा मृत्यु बोकेर
मध्य दिउँसो नै अस्ताउने गरी
आमाका अलिखित कथाहरू
आमाका जिन्दगीका उकाली ओरालीहरू
कसैले बुझेनन् किन ?
भ्यागुतो तिमीसँग जवाफ छ
आमाको अलिखित कथा कसले लेख्न सक्छ ?
चमेरो जवाफ देउ
आमाका जिन्दगीका उकाली ओराली कसले भन्न सक्छ ?
आउ बहस गरौँ
आमाका सपनाहरू नचोइटिउन्
आमाका गर्भहरू नतुहिउन्
म प्रार्थना गर्छु
जिउने कला सिकाई
जुगौँ जुग बाँचुन् आमाहरू
तिमीले थालेको यात्रा
गन्तव्य पुग्नै छ
तिम्रो यात्रा अधुरै होला
सैतान बाटो छेकी बसेको छ
तिमीले सैतानसँग लड्नै छ
तिमी त सिङ्गो युग हौ
सैतानहरू तिमीलाई लखेटिरहेछन्
युगको हत्या हुने गरी
तिमी नायक हौ
युगको हत्या रोक्छौ कसरी ?