पोखरा-मुग्लिन सडक विस्तारमा सुस्तता: पश्चिम खण्डको प्रगति आधा मात्रै
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १० शनिबार
579
Shares
गण्डकी। पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० प्रतिशत र वित्तीय प्रगति ४२.५० प्रतिशत मात्र पुगेको छ। कुल ३८.८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्रे भइसकेको आयोजना कार्यालयले जनाएको छ।
आयोजना कार्यालयका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार, २६.३८ किलोमिटरमा दुईतर्फी (चार लेन) र १०.३२ किलोमिटर सडकमा एकतर्फी (दुई लेन) कालोपत्रे भइसकेको छ।
ठेक्काको म्याद थप र ढिलाइको कारण
विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुससम्म रहेको छ। निर्माण कम्पनीले समयमा काम नगरेपछि यसअघि दुईपटकसम्म म्याद थप भएको इन्जिनियर कुँवरले जानकारी दिए। चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको छ।
तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर कुँवरले बताए। पश्चिम खण्डमा पर्ने १३ वटा पुलमध्ये ११ वटा बनिसकेका छन् भने दुईवटा पुल निर्माणाधीन अवस्थामा छन्। १०५ वटा कल्भर्टमध्ये १०३ वटा निर्माण भइसकेका छन्।
पुल निर्माणको अवस्था
तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो। सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ। विजयपुर खोला पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ भने सेती पुलको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ। विजयपुर पुल बन्न अझै पाँचदेखि छ महिनासम्म लाग्ने इन्जिनियर कुँवरले बताए।
आगामी भदौमा तीनवर्षे ठेक्का अवधि सकिन लागेको सेती पुलको भौतिक प्रगति पनि न्यून देखिएको छ। विसं २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो। पुलको डिजाइन स्वीकृतदेखि मापदण्डभित्रका संरचना हटाउनेसम्मका काममा ढिलाइ भएकाले पुल समयमा बन्न नसकेको इन्जिनियर कुँवरले बताए।
केवल–स्टेड प्रविधिको उक्त पुलमा सब–स्ट्रक्चरको काम सकिएको र अहिले डाउनस्ट्रिम पुलमा सुपर–स्ट्रक्चरको काम भइरहेको छ। आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ। छ लेनको उक्त सडकमा अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा सिग्नेचर पुल बन्ने भएका हुन्।
भ्याटबाहेक ९४ करोड रुपैयाँको ठेक्कामा पुल निर्माणको काम भइरहेको हो। पुलमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ। ५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो। निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’का रूपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ।