arrow

अमेरिकी, जापानी र रुसी अन्तरिक्ष यात्रीको संयुक्त यात्रा, ‘क्रू-११’ मिसन प्रक्षेपण हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
international-space-station-iss.jpg

काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासा र निजी कम्पनी स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फको आगामी ‘मानवयुक्त मिसन’ सन् २०२५ जुलाई ३१ मा प्रक्षेपण गर्ने तयारी गरेका छन्। नासाले बिहीबार दिएको जानकारीअनुसार, यो मिसन फ्लोरिडास्थित नासाको केनेडी अन्तरिक्ष केन्द्रबाट अमेरिकी पूर्वी समयअनुसार दिउँसो १२ः०९ बजे प्रक्षेपण गरिनेछ। अन्तरिक्ष यानले शनिबार, अगस्ट २ तारिखको बिहान करिब ३ बजे आईएसएसमा डक गर्ने अपेक्षा गरिएको छ।

‘क्रू–११’ नाम दिइएको यस मिसनमा नासाका अन्तरिक्ष यात्री जिना कार्डम्यान र माइक फिन्के, जापानको एयरोस्पेस अनुसन्धान संस्थान (जाक्सा) का किमैया युई, तथा रसियाको रोस्कोसमोस अन्तरिक्ष संस्थाका ओलेग प्लातोनोभ सहभागी हुनेछन्।

यो मिशन नासाको ‘कमर्शियल क्रू कार्यक्रम’ अन्तर्गत स्पेसएक्ससँगको सहकार्यमा सञ्चालन हुन लागेको ११औं मानवयुक्त अभियान हो।

कमर्शियल क्रू कार्यक्रम संयुक्त राज्य अमेरिकास्थित नासाले सुरु गरेको एक विशेष पहल हो। यसको मुख्य उद्देश्य निजी क्षेत्रसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सम्म मानवसहितको यात्रा सुरक्षित, भरपर्दो र लागत–प्रभावी तरिकाले सम्पन्न गर्नु हो।

यस कार्यक्रमअन्तर्गत नासाले स्पेसएक्स र बोइङजस्ता निजी कम्पनीहरूलाई आफ्नो अन्तरिक्ष यान विकास गर्न प्रोत्साहन दिएको छ। यसबाट सरकारी मात्र नभई व्यावसायिक साझेदारमार्फत पनि अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउने सुविधा सुनिश्चित गरिएको छ। यसले अमेरिकाभित्रैबाट अन्तरिक्ष यात्राको स्वदेशी क्षमतामा वृद्धि गर्दै आएको छ, साथै अन्तरिक्ष अन्वेषणलाई दिगो र प्रतिस्पर्धी बनाउने दिशामा ठोस कदम चालेको मानिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ