उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुल्ने
व्यापारका लागि २२ सय जनालाई पास
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
472
Shares
तस्बिर फाइल
काँक्रेविहार (सुर्खेत) । उपल्लो डोल्पामा व्यापारका लागि नेपाल र चीनबीचको मोरिम्ला नाका यही साउन २५ गतेदेखि २० दिनका लागि खुल्ने भएको छ।
शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङका अनुसार, चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँगको छलफलपछि साउन २५ देखि भदौ १३ गतेसम्म सीमा क्षेत्र खोल्ने निर्णय भएको हो। उपल्लो डोल्पाका तीन पालिकाका लागि मोरिम्ला नाका प्रत्येक वर्ष एक पटक खोल्ने गरिन्छ।
यस वर्ष सीमा पार गरेर व्यापार गर्नका लागि २ हजार २०० जनाले सीमा प्रवेश ‘पास’ लिएको सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले जानकारी दिए। पालिकाको मागअनुसार यस अवधिमा सशस्त्र प्रहरी र नेपाल प्रहरी सीमानाकासम्म परिचालन गरिनेछ। अघिल्लो वर्ष यो नाका १५ दिनका लागि खुला गरिएको थियो।
विगतदेखि खुल्दै आएको मोरिम्ला नाकाबाट उपल्लो डोल्पावासीले दैनिक उपभोग्य सामग्री, लत्ताकपडा र विभिन्न मेसिनरी सामग्री खरिद गर्ने गर्छन्। उपल्लो डोल्पा भौगोलिक रूपमा विकट भएकाले नेपाली सामान खरिद गर्दा ढुवानी खर्च महँगो पर्ने भएकाले उनीहरू एक वर्ष पुग्ने गरी सस्तो मूल्यमा चिनियाँ सामग्री खरिद गर्दै आएका छन्।