आर्थिक कूटनीतिमा अवैतनिक वाणिज्यदूतहरूको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
434
Shares
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्थिक कूटनीति र जनस्तरको सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदूतहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन्। अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन) को १८औँ वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन्।
मन्त्री राणाले अवैतनिक वाणिज्यदूतहरूले नेपाल र उनीहरूले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई मजबुत बनाउनुका साथै आर्थिक, शैक्षिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताएकी छन्। उनले भनिन्, “वर्तमान विश्वमा साझा समृद्धिका लागि द्विपक्षीय सहयोग र साझेदारीलाई अगाडि बढाउनुपर्छ। व्यापार प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण, बजार पहुँच र नेपालको छवि प्रवर्द्धनमा तपाईंहरूको योगदान अनिवार्य छ।”
एचसीसी–एनका डिन चन्द्रप्रसाद ढकालले अवैतनिक वाणिज्यदूतहरू नेपालको आर्थिक कूटनीतिका सक्रिय साझेदार भएको बताए। उनले अहिलेको विश्वव्यापी युगमा आर्थिक कूटनीति आवश्यकता भएको भन्दै अवैतनिक वाणिज्यदूतहरू औपचारिक प्रतिनिधि मात्र नभई नेपालको आर्थिक रूपान्तरणमा स्वयंसेवकको रूपमा काम गर्न सक्ने बताए।
ढकालले राष्ट्रिय हितका पक्षमा एचसीसी–एन सधैँ समर्पित रहने बताए। उनले परराष्ट्र मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा नेपालमा पहिलो पटक आर्थिक सम्मेलन आयोजना गर्ने तयारी भइरहेको जानकारी पनि दिए।