वीरगञ्ज नाकाबाट आयात र निर्यातमा ठूलो सुधार, निर्यात २२७ प्रतिशतले बढ्यो
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
407
Shares
वीरगञ्ज (पर्सा)। नेपालको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट गत आर्थिक वर्ष २०८१/०८२ मा आयात र निर्यात दुवैमा उल्लेख्य सुधार देखिएको छ। वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, अघिल्लो वर्षको तुलनामा निर्यातमा २२७.०९ प्रतिशतको कीर्तिमानी वृद्धि भएको छ।
भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार, गत आर्थिक वर्षमा कुल ६ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्, जुन अघिल्लो वर्षभन्दा १५.१४ प्रतिशतले बढी हो। आयात भएका प्रमुख वस्तुहरूमा पेट्रोलियम पदार्थ (१ खर्ब ९१ अर्ब ८८ करोड रुपैयाँ), भटमासको कच्चा तेल (५७ अर्ब ६८ करोड रुपैयाँ), मेसिनरी, फलाम र औषधि छन्।
यससँगै, निर्यातमा भने अझ ठूलो उछाल आएको छ। गत आर्थिक वर्षमा १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। अघिल्लो वर्ष यो नाकाबाट मात्र ३१ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको थियो।
निर्यात भएका प्रमुख वस्तुहरूमा भटमासको प्रशोधित तेल (६१ अर्ब ४५ करोड रुपैयाँ), सूर्यमुखीको प्रशोधित तेल, फलफूलको जुस र फलाम तथा फलामबाट बनेका सामग्रीहरू छन्। यसले नेपालको अर्थतन्त्र सहज हुँदै गएको सङ्केत गरेको प्रमुख लामिछानेले बताएका छन्।