सुर्खेत । गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्। जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको यती बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४, पिपलचौरस्थित भेरी नदीमा खसेको हो।
इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिवकुमार चौधरीका अनुसार, टिपरमा चालकसहित तीन जना सवार थिए। उनीहरूको अवस्था अझै अज्ञात छ। बेपत्ता भएकाहरूको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको छ।
भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको चौधरीले बताए। बेपत्ता भएकाहरूको नाम र ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ।